काठमाडौं। नेपाल — हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स’ वर्कशप (एच एल एफ -डब्लु डब्लु के) २०२६ सम्पन्न भएको छ । आठ दिनसम्म चलेको साहित्यिक संवाद, सांस्कृतिक आदानप्रदान, कार्यशाला, कविता वाचन, चलचित्र प्रदर्शन तथा समुदायमुखी कार्यक्रमहरू सफलतापूर्वक समापन भएको छ।
महोत्सवले नेपाल तथा विश्वका विभिन्न देशका लेखक, कवि, विद्वान, अनुवादक, चलचित्रकर्मी, शिक्षक तथा विद्यार्थीहरूलाई एकै मञ्चमा ल्याएको थियो। मे २९ देखि जुन ५, २०२६ सम्म होटल मल्ल लगायत काठमाडौंका विभिन्न सांस्कृतिक स्थलहरूमा आयोजित महोत्सवमा पुलित्जर पुरस्कार विजेता कवि ट्रेसी के. स्मिथ र पल मल्डुन, ब्रुकलिन पोएट लरेट टिना चाङ, द आयरिस टाइम्सका पुस्तक सम्पादक मार्टिन डोयल, प्रख्यात कवि तथा अनुवादक टोनी बार्नस्टोन, चर्चित उपन्यासकार जीन ह्यान्फ कोरेलिट्ज तथा हिमाली कवि युयुत्सु शर्मा लगायत एशिया, युरोप, उत्तर अमेरिका, अफ्रिका र अस्ट्रेलियाका ७५ भन्दा बढी लेखक, कलाकार, विद्वान तथा सांस्कृतिककर्मीहरूको सहभागिता रहेको थियो।

जुन ४ मा सम्पन्न उद्घाटन समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री माननीय विक्रम तिमिल्सिना प्रमुख अतिथिका रूपमा तथा नेपालका लागि बेलायती राजदूत महामहिम रब फेन विशेष अतिथिका रूपमा उपस्थिति रहेकाे थियाे । अतिथिहरूले साहित्य, सांस्कृतिक संवाद र अन्तर्राष्ट्रिय सहकार्यले आपसी समझदारी, सिर्जनशीलता तथा विश्वनागरिकताको भावनालाई प्रवर्द्धन गर्ने महत्त्वपूर्ण माध्यम भएको उल्लेख गर्नुभयो।
“नयाँ विश्व व्यवस्थामा उन्माद, उपचार र सिर्जनात्मक लेखन” भन्ने मूल विषयमा केन्द्रित महोत्सवले साहित्य, कला, अध्यात्म तथा चिन्तनशील परम्पराहरूको रूपान्तरणकारी शक्तिमाथि विमर्श गर्यो। सहभागीहरूले मास्टरक्लास, सिर्जनात्मक लेखन कार्यशाला, प्यानल छलफल, कविता वाचन, सांस्कृतिक प्रस्तुति तथा काठमाडौं दरबार क्षेत्र, पाटन, बौद्धनाथ, बुढानीलकण्ठ र नगरकोटका सांस्कृतिक भ्रमणहरूमा सहभागिता जनाए, जसले नेपालको सांस्कृतिक तथा आध्यात्मिक सम्पदासँग गहिरो परिचय गरायो।

एच एल एफ-डब्लु डब्लु के २०२६ को एक ऐतिहासिक उपलब्धिका रूपमा एच एल एफ पोएट्री फिल्म फेस्टिभलको सफल शुभारम्भ सम्पन्न भयो। साहित्य, कविता र चलचित्रबीचको अन्तरसम्बन्धलाई समर्पित यो नेपालकै पहिलो अन्तर्राष्ट्रिय कविता चलचित्र महोत्सव हो। यस पहलले साहित्यिक कल्पनालाई दृश्य माध्यममार्फत नयाँ अभिव्यक्ति प्रदान गर्दै अन्तरविषयक संवादका लागि नयाँ सम्भावनाहरू सिर्जना गरेको छ।
महोत्सवभर आयोजित चलचित्र प्रदर्शन तथा छलफलहरूले कला र साहित्यका परम्परागत सीमाभन्दा पर सोच्न प्रेरित गरे।
साहित्यमा आधारित चलचित्रहरूले रूपान्तरण, प्रतीकवाद, स्मृति तथा दृश्य कथनकलाका विविध आयामबारे संवादको अवसर प्रदान गरे भने प्यानल छलफलहरूले चलचित्रको भाषा र कविताको लय, रूपक तथा भावभूमिबीचको सम्बन्धलाई उजागर गरे। महोत्सवका संस्थापक तथा निर्देशक युयुत्सु शर्माले कविता चलचित्र महोत्सवले एच एल एफ-डब्लु डब्लु केको व्यापक दृष्टिलाई प्रतिनिधित्व गर्ने बताउँदै भन्नुभयो:
“कविता र चलचित्र दुवैले दृश्य, लय र कल्पनाको साझा भाषा बोल्छन्। कविता चलचित्र महोत्सवमार्फत हामी साहित्यले पृष्ठको सीमालाई पार गर्दै पर्दामा नयाँ जीवन प्राप्त गर्ने र कथनकलाको शक्तिमार्फत संस्कृतिहरूलाई जोड्ने मञ्च निर्माण गर्न चाहन्छौँ।”
महोत्सवको विशेष आकर्षणमध्ये कविता र चलचित्रको सम्बन्धबारे आयोजित प्यानल छलफल पनि एक थियो, जसमा चलचित्रकर्मी पिटर सालिस्बरी र कारोला मायर तथा इन्स्टिटुटो सर्भान्तेसकी निर्देशक मारिया गिल बर्मान सहभागी हुनुहुन्थ्यो। छलफलमा विभिन्न परम्पराका चलचित्रकर्मीहरूले साहित्यिक तथा काव्यिक संवेदनालाई कसरी चलचित्र भाषामा रूपान्तरण गरेका छन् भन्ने विषयमा विचार आदानप्रदान गरिएको थियो। साथै अकीरा कुरोसावा, लुइस बुनुएल, जोन बुरम्यान, जाँ-ल्युक गोदार, फ्राँस्वा त्रुफो, आन्द्रेज वायदा, वोइचेख हास र क्रिस्टोफ किस्लोभ्स्की जस्ता विश्वप्रसिद्ध निर्देशकहरूको प्रभावबारे पनि चर्चा गरिएको थियो।
अन्तर्राष्ट्रिय चलचित्र कार्यक्रममा स्पेन, पोर्चुगल, अस्ट्रिया, पोल्यान्ड, आयरल्यान्ड तथा मेक्सिकोका साहित्य तथा कविताबाट प्रेरित चलचित्रहरू प्रदर्शन गरिएका थिए। प्रमुख चलचित्रहरूमा पोलिस साहित्यकार बोलेस्लाव प्रुसको चर्चित उपन्यासमा आधारित The Doll (Lalka), नोबेल पुरस्कार विजेता हेनरिक सिन्केविचको कृतिमा आधारित In Desert and Wilderness, लुइस द कामोएसको कविताबाट प्रेरित पोर्चुगाली चलचित्र इरोस मेउस, मा फोर्तुना, आमोर आर्देन्ते, अस्ट्रियन चलचित्र वाइड अवेक, आइरिस चलचित्र क्लाउडेड रिभेरिज तथा स्पेनी वृत्तचित्र एल लाबेरिन्तो दे ओक्टाभियो पाज रहेका थिए।
यो अन्तर्राष्ट्रिय चलचित्र कार्यक्रम पोलिस इन्स्टिच्युट नयाँदिल्ली, इन्स्टिटुटो सर्भान्तेस, पोर्चुगल दूतावास, अस्ट्रियन कल्चरल फोरम लगायत सांस्कृतिक आदानप्रदानमा समर्पित विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्यमा सम्पन्न गरिएको थियो।
विशेष सम्मान समारोहमा नेपालका लागि पोल्यान्ड गणतन्त्रका मानार्थ महावाणिज्यदूत लोकमान्य गोल्छालाई नेपाल र पोल्यान्डबीचको सांस्कृतिक सम्बन्ध तथा मित्रता सुदृढ बनाउन पुर्याएको महत्वपूर्ण योगदानका लागि सम्मानित गरिएको थियो।
महोत्सवमा गुरु प्रसाद मैनालीको साहित्यिक विरासतको विशेष स्मरण गरिनुका साथै कृत्रिम बुद्धिमत्ता र सिर्जनात्मक लेखन, संस्मरण, अनुवाद, आघात र उपचार, आदिवासी साहित्य तथा समकालीन विश्व कवितासम्बन्धी विविध विषयमा छलफलहरू आयोजना गरिएका थिए। नेपाली, नेपाल भाषा, मैथिली, भोजपुरी, थारु, उर्दू, हिन्दी तथा अङ्ग्रेजी भाषामा आयोजित कविता वाचनहरूले नेपाल तथा हिमाली क्षेत्रको भाषिक र सांस्कृतिक विविधतालाई उजागर गरेका थिए।
समापन समारोहमा बोल्दै महोत्सव निर्देशक युयुत्सु शर्माले सहभागी लेखक, प्रशिक्षक, स्वयंसेवक, प्रायोजक, शैक्षिक संस्था, कूटनीतिक नियोग र उपस्थित अन्तर्राष्ट्रिय पाहुनाहरूलाई धन्यवाद दिँदै कार्यक्रमले नेपाली भाषा साहित्य कला संस्कृति र परम्परालाई अन्तर्राष्ट्रिय प्राज्ञिक मूल्यमा जोड्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको थियो।

































