सुदूरपश्चिमकै दुर्गम र विकासका दृष्टिकोणले पछि परेको बैतडीको तल्लो स्वराड क्षेत्रमा केही वर्षअघिसम्म सडक यातायात थिएन । दैनिक उपभोग्य वस्तु, स्वास्थ्य उपचारका लागि महाकाली नदी तरेर भारत जानुपर्ने बाध्यता थियो । अहिले भने यस क्षेत्रमा कालोपत्रे सडक, बिजुली र इलाका प्रशासन कार्यालय खुलेपछि यहाँका स्थानीयले बल्ल आफ्ना लागि सरकार भएको अनुभूति गर्न थालेका छन् । नागरिकता र राष्ट्रिय परिचयपत्र बनाउनसमेत सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको छ ।
भारतसँग सीमा जोडिएको स्वराड क्षेत्रका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा कालोपत्रे सडक पुगेपछि यस क्षेत्रको परिचय नै फेरिन थालेको छ । विकास पूर्वाधारमा सङ्घ, प्रदेश र स्थानीय तहबाट नै लगानी भइरहेको छ ।
एक दशकअघिसम्म यहाँ खच्चडमार्फत चामल ढुवानी गर्नुपर्दा बजार मूल्यभन्दा प्रतिकिलो २० रुपियाँ महँगो तिर्नुपर्ने बाध्यता थियो । सङ्घ र प्रदेश सरकारको अगुवाइमा सडक पुगेपछि अहिले सुपथ मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध थालेको छ । यहाँको स्थानीय कृषि उत्पादन तराईका जिल्ला पुग्न थालेको छ । घर पोत्ने रातोमाटोसमेत बिक्री हुन थालेपछि स्थानीय दङ्ग छन् ।
पाटन–पञ्चेश्वर सडक निर्माणले गति लिएपछि महाकाली नदीमा काठको डुङ्गा तरेर भारत जानुपर्ने बाध्यता हटेको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “भारत जाँदा नेपाली टोपी लुकाएर जानुपर्ने बाध्यता अहिले छैन ।”
केही वर्षअघिसम्म भारतीय बजारमा नै भर पर्नुपर्ने बाध्यताले तल्लो स्वराडका सीमावर्ती गाउँमा नेपाली मुद्रासमेत चल्दैनथ्यो । सामाजिक सुरक्षा भत्ता बुझ्नसमेत भारतको पिथौरागढ जिल्ला घुमाएर पञ्चेश्वर पुग्नु पथ्र्यो तर अहिले यहाँका तीन वटै पालिकामा बैङ्क खुलेपछि गाउँमा नेपाली मुद्रामै कारोबार हुन थालेको छ । बैंङ्कबाटै सामाजिक सुरक्षा भत्ता प्राप्त हुन थालेको स्थानीय नारायण सार्कीले बताउनुभयो ।
स्वराडमै नागरिकता
विसं २०८३ वैशाखमा मेलौलीमा इलाका प्रशासन कार्यालय खुलेपछि यस क्षेत्रका तीन वटा पालिकाका सेवाग्राहीले नागरिकता र राष्ट्रिय परिचयपत्रका लागि सदरमुकाम धाउने झन्झट पनि हटेको छ । स्थानीयले आफ्नो गाउँमै नागरिकता र राष्ट्रिय परिचयपत्र प्राप्त गर्ने सुविधा पाउन थालेका छन् ।
मेलौलीमै इलाका प्रशासन कार्यालय स्थापना भएपछि सरकारी सेवा लिनकै लागि हुने आर्थिक बोझ हटेको मेलौलीका युवा महेशदत्त भट्टले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “पहिला ती सेवाका लागि सदरमुकाम ओहोरदोहोर गर्दा प्रतिव्यक्ति करिब पाँच हजार रुपियाँ खर्च हुन्थ्यो । पञ्चेश्वर गाउँपालिकाबाट जिल्ला सदरमुकाम पुग्न एकतर्फी गाडीभाडा मात्रै एक हजार पाँच सय रुपियाँ खर्च हुन्थ्यो । आउँदाजाँदा तीन हजार गाडीभाडा, खाना र होटेलमा बास बस्दा कम्तीमा पाँच हजार रुपियाँ खर्च हुँदै आएको थियो ।”

इलाका प्रशासन कार्यालयबाट अहिले नेपाली नागरिकता र राष्ट्रिय परिचयपत्र प्रदान गरिँदै आएको बैतडीका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताउनुभयो । उहाँले दैनिक ४० देखि ५० जनाले सेवा लिँदै आएको जानकारी दिनुभयो ।
उज्यालो युग सुरु
पछिल्लो समय यहाँ सडक, सञ्चार, विद्युत् र प्रशासनिक सुगमताले नयाँ युगको सुरुवात भएको मेलौली नगरपालिकाका पूर्वप्रमुख कृष्णसिंह नायकले बताउनुभयो । उहाँले स्वराडमा इलाका प्रशासन कार्यालय, सडक पूर्वाधार, बिजुलीबत्ती र धार्मिक पर्यटकीय क्षेत्र मेलौली भगवती मन्दिरको पर्यटकीय गुरुयोजना बनेर निर्माणको काम अगाडि बढेपछि यस क्षेत्रको कायापलट भएको बताउनुभयो ।
प्रदेश सरकारको अगुवाइमा सडक पूर्वाधारतर्फ बैतडीको पाटनदेखि पञ्चेश्वर गाउँपालिकासम्मको करिब ६५ किलोमिटर सडकखण्डमध्ये हालसम्म ३५ किलोमिटर कालोपत्रे भइसकेको छ भने २५ किलोमिटरमा धमाधम कालोपत्रेको भइरहेको छ । यो सडकखण्डको २५ किलोमिटरमा गएको दुई वर्षमा ४४ करोड रुपियाँ खर्च भएको छ भने चालु आर्थिक वर्षमा आठ करोड २८ लाख रुपियाँ बजेट विनियोजन भएको छ । यो वर्ष २५ किलोमिटर कालोपत्रे सडक पूरा भएपछि ६० किलोमिटर कालोपत्रे सडकको काम पूरा हुने पूर्वाधार विकास कार्यालय बैतडीका डिभिजनल इन्जिनियर दीपेन्द्र भट्टले बताउनुभयो । उहाँले यो पाटन–पञ्चेश्वर सडकले तल्लो स्वराड क्षेत्रलाई राज्यको मूलधारसित जोड्ने गौरवको योजना भएको बताउनुभयो ।
उहाँले भन्नुहुन्छ, “पाटन–पञ्चेश्वर सडक स्वराडको लाइफलाइन हो । सडक विस्तार भएपछि विकासका सबै ढोका खुलेका छन् ।”
उहाँले सदरमुकामनजिकैको देहिमाण्डौबाट पनि तल्लो स्वराड क्षेत्र जोड्न देहिमाण्डौ–गिरेगाडा सडकखण्डमा पनि कालोपत्रे भइरहेको जानकारी दिनुभयो । छोटो दुरीको यो सडक १४ किलोमिटर कालोपत्रे भइसकेको छ । त्यसै गरी प्रदेश सरकारकै योजनामा परेको सतबाँझ–श्रीभावर–हाटमा १५ किलोमिटर र दार्चुला जिल्लामा ११० किलोमिटरभन्दा बढी कालोपत्रे सडक निर्माण भइसकेको पूर्वाधार विकास कार्यालय बैतडीले जनाएको छ ।
सडकले सत्तरी हजारलाई फाइदा
तल्लो स्वराड क्षेत्रको पाटन–पञ्चेश्वर सडकखण्डले यहाँका तीन वटा पालिकाका करिब ७० हजारभन्दा बढी नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । यसअघि तल्लो स्वराड क्षेत्रका मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका अधिकांश स्थानीय महाकाली नदीमा परम्परागत काठको डुङ्गा तरेर भारतीय बजारमा जाने गरेका थिए । सडक पुगेपछि स्वराडमा ठुलो परिवर्तन आएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो ।
तल्लो स्वराड क्षेत्रका तीन पालिका (मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका) मा कालोपत्रे सडक विस्तार भएपछि तराईका जिल्लामा सिधा बस सेवा सञ्चालन हुन थालेको छ । यसले गर्दा यहाँका स्थानीय बासिन्दाको दैनिक जीवन र यातायातमा ठुलो परिवर्तन ल्याएको छ । तल्लो स्वराडबाट अहिले तराईका कैलाली र कञ्चनपुर जाने ठुला तथा साना गरी करिब २० वटा सवारीसाधन रहेको यायायात व्यवसायी विजयसिंह नायकले बताउनुभयो ।

कालोपत्रे सडक सञ्जालले यस क्षेत्रका बिरामीलाई आकस्मिक रूपमा तराईका सुविधासम्पन्न अस्पताल लैजानसमेत सहज भएको उहाँले बताउनुभयो । यसअघि महाकाली नदीमा डुङ्गा तरेर भारतमा उपचार गराउनुपर्ने बाध्यता थियो ।
घर घरमा बिजुली अभियान
तल्लो स्वराड क्षेत्रका तीन वटा स्थानीय तहमा बिजुली नहुँदा सल्लाको झरो (दियालो) र टुकीको उज्यालोमा बस्नुपर्ने बाध्यता थियो । स्वराडवासीका लागि राष्ट्रिय प्रसारण लाइनको विद्युत् विस्तार हुन थालेपछि उज्यालोको खुसी थपिएको छ । मेलौली पञ्चेश्वर र शिवनाथ गाउँपालिकाका केन्द्र र अधिकांश वडामा बिजुली पुगेको छ । गाउँपालिका केन्द्रमा बिजुली पु¥याएर वडाले प्रत्येक घरधुरीमा बिजुली पु¥याउने अभियान सुरु भएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले बताउनुभयो ।
यसअघि भारतपारिको बिजुली हेरेर बसेका गाउँमा राष्ट्रिय प्रसारण लाइनको बिजुली पुगेपछि जीवनयापन सहज भएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । उहाँले स्वराड क्षेत्र चितुवा प्रभावित क्षेत्र भएकाले बिजुली पुगेपछि चितुवाको आक्रमणसमेत घटेको बताउनुभयो ।
नेपाल विद्युत् प्राधिकरण बैतडी वितरण केन्द्रका माधवप्रसाद लेखकले हालसम्म यहाँका तीन वटै पालिका केन्द्रमा राष्ट्रिय प्रसारणको लाइन पु¥याइसकेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “पञ्चेश्वर गाउँपालिकाका छ वडामध्ये पाँचमा विद्युत् पुगिसकेको छ । मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकामा विद्युतीकरणका लागि गाउँगाउँमा पोल गाड्ने काम सुरु भइरहेको छ ।”
गाउँमा बिजुली आएसँगै विद्यालयमा स्मार्ट बोर्डबाट पठनपाठन सुरु मणिलेक मावि मेलौलीका प्रधानाध्यापक देवदत्त कलौनीले बताउनुभयो । योसँगै बिजुलीले कुटानी पिसानीका मिल सञ्चालनमा आएपछि किसानलाई राहत पुगेको मेलौली नगरपालिका–६ का किसान चिन्तामणि भट्टले बताउनुभयो ।
शिक्षामा फड्को
तल्लो स्वराड क्षेत्रका तीन पालिकामा अहिले तीन वटा क्याम्पस खुलेका छन् । मेलौली नगरपालिका मणिलेक बहुमुखी क्याम्पस, शिवनाथमा ग्रामप्रकाश बहुमुखी क्याम्पस र पञ्चेश्वरमा नवप्रभात क्याम्पस सञ्चालनमा आएका छन् । पालिकास्तरमै क्याम्पस सञ्चालनमा आएपछि गाउँमै उच्च शिक्षा अध्ययनको अवसर सिर्जना भएको स्थानीय बुद्धिजीवी एवं शिक्षक देवदत्त कलौनीको भनाइ छ ।
यो क्षेत्रको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा अहिले कुल विद्यालय सङ्ख्या १०६ पुगेको छ । त्यसै गरी उच्च शिक्षा अध्ययनका लागि तीन वटा क्याम्पस सञ्चालनमा आएका छन् । यस क्षेत्रकै प्रमुख शैक्षिक संस्थाका रूपमा मेलौलीको काँडामा मणिलेक बहुमुखी क्याम्पस सञ्चालनमा आएपछि यहाँको शैक्षिक स्थितिमा ठुलो परिवर्तन आएको छ ।

मेलौली नगरपालिकामा मात्रै हाल ४८ वटा विद्यालय र एक क्याम्पस सञ्चालनमा छन् । त्यसै गरी शिवनाथ गाउँपालिकामा कुल २९ विद्यालय र ग्रामप्रकाश क्याम्पस सञ्चालनमा छ । यस गाउँपालिकामा माध्यमिक विद्यालय नौ वटा, निम्नमाध्यमिक विद्यालय चार वटा र प्राथमिक (आधारभूत कक्षा १–५) विद्यालय १६ वटा रहेका छन् ।
भारतसँग सीमा जोडिएको पञ्चेश्वर गाउँपालिका कुल २९ वटा विद्यालय र नवप्रभात क्याम्पस सञ्चालनमा छ । यहाँ भौगोलिक विकटताका हुँदाहुँदै पनि शैक्षिक संस्थाले गाउँमै उच्च शिक्षा प्रदान गरिरहेका छन् ।
मेलौली नगरपालिकामा रहेको मणिलेक माध्यमिक विद्यालयले कक्षा ९ देखि १२ सम्म प्राविधिक धारतर्फ सबइन्जिनियर विषयको पढाइसमेत सुरु गरेको छ । सरकारले नै नमुना विद्यालय घोषणा गरेर यहाँ विभिन्न शैक्षिक गतिविधि सञ्चालन भइरहेको प्रधानाध्यापक देवदत्त कलौनीले जानकारी दनुभयो ।
आठ सय रोपनी खेतमा सिँचाइ
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा पञ्चेश्वर गाउँपालिका–१, ३ र ४ को सीमानामा रहेको आमखेतमा सिँचाइ पुगेपछि यहाँको ८७० रोपनीभन्दा बढी जग्गा सिञ्चित भएको छ । आमखेतमा पानी पुगेपछि गाउँमा खुसियाली छाएको स्थानीय वीरेन्द्र चन्दले बताउनुभयो ।
उहाँका अनुसार आमखेतमा स्थानीय जौले, रातो बासमतीलगायत स्थानीय जातको धान उत्पादन हुने गरेको छ । यसअघि आकासे पानीको भरमा रोपाइँ हुँदै आएको थियो । समयमै पानी नपरेको वर्ष रोपाइँ प्रभावित हुने गरेकोमा यो वर्ष भने समयमै रोपाइँ हुने भएपछि स्थानीय खुसी भएका छन् ।

पञ्चेश्वर गाउँपालिका–४, विनायक, अमखेतलगायतका ठाउँ धान खेतीका लागि प्रसिद्ध मानिने गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताउनुभयो । उहाँले गाउँपालिकाको अगुवाइमा पल्लो विनायकमा महाकाली नदीबाट पानी तानेर सिँचाइ पु¥याउने काम पूरा गरेर विद्युत् जडानको तयारी भइरहेको बताउनुभयो । विनायकमा महाकालीको पानी तानेर सिँचाइ पु¥याउन गाउँपालिकाले करिब ३० लाख रुपियाँ खर्च गरेको उहाँले जानकारी दिनुभयो ।
गाउँमै एमबिबिएस डाक्टर
तल्लो स्वराड क्षेत्रको केन्द्रविन्दुका रूपमा रहेको मेलौली नगरपालिकाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एमबिबिएस डाक्टर नवीनकुमार शाहले सेवा दिइरहनुभएको छ । चिकित्सकले गाउँमै बसेर सेवा दिन थालेपछि यहाँका स्थानीयले प्राथमिक उपचार लागि सहर वा सदरमुकाम धाउनुपर्ने अवस्था हटेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका सिनियर अहेव मुकेशकान्त दयालले बताउनुभयो ।

उहाँले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रबाट दैनिक एक सयभन्दा बढी बिरामीले सेवा लिँदै आएको जानकारी दिनुभयो । स्वास्थ्य केन्द्रमा बेला बेलामा प्रदेश सरकार, जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयबाट स्वास्थ्य शिविर आयोजना हुँदै आएको पनि उहाँले बताउनुभयो । स्वास्थ्य केन्द्रमा एक जना रेडियोग्राफरको पदपूर्ति हुन सके यहाँको स्वास्थ्यसेवा अझै प्रभावकारी हुने उहाँले बताउनुभयो ।
योसँगै शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा पालिकास्तरका अस्पतालका भवन निर्माण भइरहेको शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण साउदले बताउनुभयो ।
कृषिमा करोड लगानी
यस क्षेत्रका तीन वटा स्थानीय तहमा सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा स्थानीय तह विशेष पकेट क्षेत्र कार्यक्रम अन्तर्गत कृषक समूहमार्फत ४० लाख रुपियाँका दरले तीन वटै पालिकामा एक करोड २० लाख रुपियाँ खर्च गर्दै छ ।
कृषि ज्ञान केन्द्र बैतडीका कार्यालय प्रमुख हरिदत्त जोशीका अनुसार शिवनाथ गाउँपालिका–१ देखि ६ सम्म स्थानीय जातको भटमास, मास, सिमी र राजमा खेतीका लागि नौ वटा कृषक समूहलाई ४० लाख रुपियाँको अनुदान वितरण गरिँदै छ ।
त्यसै गरी पञ्चेश्वर गाउँपालिकाको पनि १ देखि ६ नम्बर वडासम्म तरकारी पकेट क्षेत्रका २४ वटा कृषक समूहमार्फत ४० लाख रुपियाँ बराबरको कार्यक्रम सञ्चालन हुँदै छ । मेलौली नगरपालिकामा भने केरा, फलफूल खेतीका लागि २१ वटा समूह र संस्थामार्फत ४० लाख रुपियाँको कार्यक्रम सञ्चालन भइरहेको कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख जोशीले बताउनुभयो ।उहाँ रैथाने बालीका लागि तल्लो स्वराड क्षेत्र उपयुक्त देखिएकाले स्थानीय तह विशेष कृषि पकेट क्षेत्र अनुसारका कार्यक्रमा छनोट गरिएको बताउनुहुन्छ ।
मेलौलीमा सात करोड लागतमा खानेपानी
प्रदेश सरकारमार्फत मेलौली नगरपालिका–१ मा सुर्नया नदीबाट सात करोड २५ लाख रुपियाँ लागतमा लिफ्ट खानेपानीको योजना पूरा गरेपछि मेलौली बजार क्षेत्रमा पानीको आपूर्ति सहज भएको छ ।
विसं २०८० मा सम्पन्न भएको सो खानेपानी योजनाले मेलौली नगरपालिका–१ का गाउँ र बजार क्षेत्रमा ३४२ वटा धारा वितरण भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीका कार्यालय प्रमुख कृष्ण बोगटीले जानकारी दिनुभयो ।
बजार क्षेत्रमा पानीको आपूर्ति सहज भएपछि होटेल व्यवसाय सञ्चालनमा सहज भएको बिजु होटलका सञ्चालक विजय नायकले बताउनुहुन्छ । मेलौली बजारसँगै जोडिएको अर्को काँडा बजारमा भने खानेपानीको समस्या रहेको स्थानीय भोजराज भट्ट बताउनुहुन्छ ।

बिट्ठनेमा खेल मैदान र विद्युत् सबस्टेसन
यस क्षेत्रको प्रमुख व्यापारिक तथा धार्मिक पर्यटकीय क्षेत्र मानिने मेलौली नगरपालिका–१, बिट्ठनेमा क्षेत्रीयस्तरको खेल मैदान निर्माण भएको छ । यो खेलकुद मैदानको सङ्घीय सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटमा रकम विनियोजन गरेको उल्लेख छ ।
योसँगै खेल मैदानभन्दा तल्लो क्षेत्रमा ३३ केभीको विद्युतीय सबस्टेसन निर्माण पूरा भएको छ । तल्लो स्वराड क्षेत्रका तीन वटा पालिकाको विद्युत् सेवा नियमित गर्न यो सबस्टेसनबाट काम हुने विद्युत् वितरण केन्द्र बैतडीका सूचना अधिकारी माधवप्रसाद लेखकले बताउनुभयो ।
उहाँले भवन निर्माणको काम सकिएर लाइनसमेत विस्तार भइरहेको बताउनुभयो । सबस्टेसन चार्ज गर्न केही मेसिन उपकरण जडान हुन बाँकी रहेको उहाँले बताउनुभयो । यद्यपि ठेकेदारको लापर्बाहीका कारण यो सबस्टेसन सञ्चालन हुन ढिलाइ भइरहेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्ण साउदले टिप्पणी गर्नुहुन्छ ।
उहाँले यो सम्बन्धनमा जनप्रतिनिधिको टोली विद्युत् प्राधिकरणको प्रादेशिक कार्यालय अत्तरिया पुगेर ध्यानाकर्षण गराउँदा ठेक्का तोडेर नयाँ ठेक्का आह्वान गर्ने तयारी भएको जानकारी पाएको अध्यक्ष साउदले बताउनुभयो ।
मेलौलीमा ३३ केभीको मुख्य प्रसारण लाइनको सबस्टेसन पूर्ण रूपमा चार्ज भई सञ्चालनमा आएपछि यस क्षेत्रमा कुटानी पिसानीका मिल, साना तथा मझौला उद्योगमा भरपर्दो विद्युत्को आपूर्ति हुने अपेक्षा गरिएको छ ।
प्रस्तुति : गोकर्ण दयाल

































