काठमाण्डू, लगातारको वर्षासँगै आएको बाढी, पहिरो र सडक मर्मतका कारण देशका विभिन्न मुख्य राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ।
नेपाल प्रहरीका अनुसार केही सडकखण्डमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ भने केही राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेका छन्।
कोशी प्रदेशको भोजपुरस्थित मध्यपहाडी लोकमार्ग बाढीका कारण प्रभावित भएको छ।
सडकको केही भागमा क्षति पुगेपछि हाल वैकल्पिक व्यवस्थासहित एकतर्फी सवारी सञ्चालन गरिएको प्रहरीले जनाएको छ।
इलामको राजदुवाली क्षेत्रमा पर्ने मेची राजमार्ग पनि पहिरोका कारण एकतर्फी रूपमा सञ्चालन भइरहेको छ।
बागमती प्रदेशमा काभ्रेपलाञ्चोकको बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन रोकिएको छ।
यस्तै मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ र ४ जोड्ने फाखेल–हुमाने–फर्पिङ–काठमाडौं सडकखण्ड मर्मत कार्य भइरहेकाले पूर्ण रूपमा बन्द गरिएको छ।
प्रहरीका अनुसार उक्त सडक असार २५ गतेसम्म सञ्चालनमा आउने छैन।
लुम्बिनी प्रदेशको पाल्पास्थित सिद्धार्थ राजमार्गअन्तर्गत तानसेन नगरपालिका–८ को डुम्रे क्षेत्रमा पहिरो खसेपछि सवारीसाधनलाई पालैपालो एकतर्फी रूपमा सञ्चालन गराइएको छ।
कर्णाली प्रदेशमा भने वर्षाका कारण दुई प्रमुख सडक पूर्ण रूपमा अवरुद्ध भएका छन्।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ स्थित रिगीगार खोलामा आएको बाढीले जाजरकोट–डोल्पा जोड्ने भेरी करिडोर अवरुद्ध भएको छ।
त्यस्तै रोल्पाको परिवर्तन गाउँपालिका–१, खोलाबाङ क्षेत्रमा पहिरो खसेपछि घोराही–रुकुम शहीद मार्गमा सवारी सञ्चालन पूर्ण रूपमा ठप्प भएको प्रहरीले जनाएको छ।
नेपाल प्रहरीले वर्षायाममा सडकको अवस्था छिनछिनमै परिवर्तन हुन सक्ने भएकाले यात्रा अघि सम्बन्धित निकाय वा ट्राफिक प्रहरीबाट सडकको पछिल्लो अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ।
साथै, सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न र जोखिमयुक्त क्षेत्रमा विशेष सतर्कता अपनाउन पनि सर्वसाधारणलाई अनुरोध गरिएको छ।


































