२०८३ असार २० शनिवार | Saturday, Jul 04 2026

देशभर मनसुन सक्रिय, आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना

Untitled
Untitled
Untitled

काठमाण्डू, देशभर मनसुन प्रणालीको प्रभाव कायमै रहेकाले शनिबार पनि अधिकांश भूभागमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेश प्रदेशमा आंशिक बदलीको अवस्था देखिएको छ।

यसैबीच कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

पूर्वानुमानअनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ।

पहाडी र हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ भने उच्च हिमाली भेगमा हल्का हिमपात हुन सक्ने अनुमान गरिएको छ।

तराईका केही स्थानमा पनि मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर बदलीको अवस्था यथावत् रहनेछ।

कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रका साथै कर्णाली, लुम्बिनी र सुदूरपश्चिमका उच्च हिमाली भेगमा वर्षासँगै हिमपात हुन सक्ने सम्भावना रहेको छ।

पहाडी तथा तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ।

महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो, डुबान तथा नदी–नालामा आकस्मिक बहाव बढ्न सक्ने जोखिमप्रति सचेत रहन र आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

Untitled
Untitled
Untitled