एजेन्सी, गाजामा युद्धविरामको लागि नयाँ वार्ता गर्न इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले शुक्रबार सहमति जनाएका छन् ।
हेगस्थित अन्तर्राष्ट्रिय अदालत ( आइसिजे ) ले इजरायललाई प्यालेस्टिनी क्षेत्रमा मानिसहरूलाई तत्काल मानवीय सहायता सुनिश्चित गर्न आदेश दिएको एक दिन पछि उनले वार्ताका लागि सहमति जनाएका हुन् ।
वार्तामा अगाडि बढ्नका लागि दिशानिर्देशहरूको साथ इजरायलले वार्ता अन्त्य गरेको घोषणाको केही दिनपछि नेतन्याहूको कार्यालयले गाजा युद्धविराम र बन्धक रिहाइका लागि आगामी दिनमा दोहा र कायरोमा नयाँ वार्ता हुने जनाएको छ ।
संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्ले यसै साता ‘तत्काल युद्धविराम’ को माग गर्दै बाध्यकारी प्रस्ताव गरे पनि शुक्रबार पनि गाजास्थित अस्पताललगायत क्षेत्रमा लडाइँ जारी रहेको थियो ।
इजरायलले लेबनानमा हिजबुल्लाहका रकेट कमाण्डर मारिएको र सिरियामा हिजबुल्लाहका कैयौँ लडाकु मारिएको बताएको थियो ।
हेगस्थित अन्तर्राष्ट्रिय अदालत ( आईसीजे ) ले आफ्नो आदेशमा भनेको छ, ‘गाजामा प्यालेस्टाइनीहरूले अब अनिकालको मात्र सामना गर्नु परेको नभई भोकमरी सुरु भइसकेको छ ।’
प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय एजेन्सीका प्रमुख फिलिप लाजारिनीले एक्समा लेखेका छन्, ‘यो फैसलाले गाजा पट्टीमा विनाशकारी मानवीय स्थिति मानव निर्मित र बिग्रँदो छ भन्ने कुराको स्मरण गराएको छ ।’
अदालतले गत जनवरीमा इजरायलले गाजामा तत्काल आवश्यक मानवीय सहायता उपलब्ध गराउनुपर्ने र नरसंहार रोक्नुपर्ने फैसला सुनाएको थियो ।
तर, इजरायलले दक्षिण अफ्रिकाले ल्याएको मुद्दा अस्वीकार गरेको थियो ।




































