२०८३ साउन ४ सोमवार | Monday, Jul 20 2026

दुईदिने सार्वजनिक बिदापछि विद्यालयको बिदा १५ दिन कटौती

Untitled
Untitled
Untitled

काठमाण्डू, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको हिउँदे तथा बर्खे बिदा घटाउने निर्णय गर्दै यस शैक्षिक सत्रदेखि बिदाको अवधि ४५ दिनबाट ३० दिनमा झारेको छ ।

सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयपछि नियमित पठनपाठनमा असर कम गर्न मन्त्रालयले यस्तो व्यवस्था लागू गरेको हो ।

मन्त्रिपरिषद्को गत चैत २२ गते बसेको बैठकले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालय सञ्चालनको नयाँ कार्यतालिका लागू गर्न निर्देशन दिएको हो ।

केन्द्रले मङ्गलबार देशभरका ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइ र स्थानीय तहलाई परिपत्र पठाउँदै निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ ।

केन्द्रले विद्यालयको दैनिक समय व्यवस्थापनमा पनि कडाइ गरेको छ ।

नयाँ व्यवस्थाअनुसार अब विद्यालयमा प्रार्थनाका लागि १५ मिनेटभन्दा बढी समय छुट्याउन पाइने छैन भने खाजा समय अधिकतम ३० मिनेट मात्र रहनेछ ।

सोमबारदेखि शुक्रबारसम्म विद्यालयको सम्पूर्ण समय पठनपाठन र शैक्षिक गतिविधिमा केन्द्रित गर्न निर्देशन दिइएको छ ।

यस्तै, पहिलो र दोस्रो त्रैमासिक आन्तरिक मूल्याङ्कन नियमित कक्षालाई असर नपर्ने गरी सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।

अन्तिम परीक्षा र नतिजा प्रकाशनका लागि भने शैक्षिक सत्रको अन्तिम १२ दिन छुट्याउन विद्यालयहरूलाई भनिएको छ ।

यसैबीच, राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा प्रदेशगत रूपमा ठूलो अन्तर देखिएको छ ।

बोर्डको तथ्याङ्कअनुसार सबैभन्दा धेरै विद्यार्थी ननग्रेडेड हुने प्रदेश मधेश बनेको छ भने गण्डकी प्रदेशको नतिजा तुलनात्मक रूपमा उत्कृष्ट देखिएको छ ।

मधेश प्रदेशबाट एसईईमा ७६ हजार ३१७ विद्यार्थी सहभागी भएकामा ३१ हजार ७२५ जना ननग्रेडेड भएका छन् ।

यो सङ्ख्या अन्य प्रदेशको तुलनामा सबैभन्दा बढी हो । यस्तै, कोशी प्रदेशमा ७२ हजार २५६ विद्यार्थी सहभागी भएकामा २१ हजार ३६६ जना अनुत्तीर्ण भएका छन् ।

बागमती प्रदेशमा ९८ हजार ८१७ विद्यार्थी सहभागी भएकामा २१ हजार ७०४ जना मात्र ननग्रेडेड भएका छन् ।

शैक्षिक पूर्वाधार, स्रोतसाधन र तुलनात्मक रूपमा गुणस्तरीय विद्यालयको पहुँच बढी भएकाले बागमतीको नतिजा राम्रो देखिएको विश्लेषण गरिएको छ ।

गण्डकी प्रदेशबाट ३६ हजार ४९३ विद्यार्थी परीक्षामा सहभागी भएकामा नौ हजार ९४३ जना मात्रै ननग्रेडेड भएका छन् ।

यस प्रदेशको नतिजालाई शिक्षाविद्हरूले सकारात्मक रूपमा लिएका छन् ।

कर्णाली प्रदेशमा ३२ हजार ३३६ जनामध्ये १३ हजार २४१ जना तथा सुदूरपश्चिम प्रदेशमा ४२ हजार २९९ जनामध्ये २० हजार ६३५ जना ननग्रेडेड भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डले सोमबार साँझ सार्वजनिक गरेको नतिजाअनुसार यस वर्ष एसईईमा कुल ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

देशभरबाट दुई लाख ८४ हजार १६० जना ग्रेडेड समूहमा परेका छन् भने एक लाख ४६ हजार ५०७ जना ननग्रेडेड भएका छन् ।

बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालका अनुसार ननग्रेडेड भएका विद्यार्थीका लागि असार १ देखि ९ गतेसम्म ग्रेडवृद्धि परीक्षा सञ्चालन गरिनेछ ।

साथै, नतिजाप्रति चित्त नबुझेका विद्यार्थीले जेठ १ देखि ७ गतेसम्म पुनर्योगका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

Untitled
Untitled
Untitled