२०८३ साउन १ शुक्रवार | Friday, Jul 17 2026

इन्जुरी समयमा मार्टिनेजको निर्णायक गोल, इंग्ल्यान्डलाई हराउँदै अर्जेन्टिना लगातार दोस्रो विश्वकप फाइनलमा

Untitled
Untitled
Untitled

एजेन्सी, साविक विजेता अर्जेन्टिनाले रोमाञ्चक पुनरागमन गर्दै इंग्ल्यान्डलाई २–१ ले पराजित गरेको छ।

अन्तिम मिनेटमा प्राप्त जितसँगै अर्जेन्टिनाले फिफा विश्वकप–२०२६ को फाइनलमा स्थान सुरक्षित गर्दै उपाधि रक्षा गर्ने अभियानलाई निरन्तरता दिएको छ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको ५५औँ मिनेटमा एन्थोनी गोर्डनले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए।

त्यसपछि दबाबमा परेको अर्जेन्टिनाले लगातार आक्रमण बुन्दै खेलमा फर्कने प्रयासलाई तीव्र बनायो।

अर्जेन्टिनाको निरन्तर दबाब अन्ततः ८५औँ मिनेटमा सफल भयो। इन्जो फर्नान्डेजले उत्कृष्ट गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो।

निर्णायक क्षण भने इन्जुरी समयमा आयो। कप्तान लियोनेल मेस्सीको सटीक पासमा लाउतारो मार्टिनेजले उत्कृष्ट फिनिस गर्दै अर्जेन्टिनालाई २–१ को नाटकीय जीत दिलाए।

उनको गोलसँगै इंग्ल्यान्डको फाइनल यात्रा समाप्त भयो भने अर्जेन्टिनी समर्थक उत्सवमा डुबेका थिए।

यस हारसँगै इंग्ल्यान्डको ६० वर्षपछि विश्वकप फाइनल पुग्ने सपना अधुरै रह्यो।

उत्कृष्ट सुरुआत गरे पनि दोस्रो हाफको अन्त्यतिर दबाब थेग्न नसक्दा इंग्लिस टोली प्रतियोगिताबाट बाहिरिएको हो।

अब उपाधिका लागि अर्जेन्टिनाले अर्को सेमिफाइनलमा फ्रान्सलाई हराएर फाइनल पुगेको स्पेनसँग प्रतिस्पर्धा गर्नेछ।

साविक विजेता अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकप उपाधि जित्ने लक्ष्यमा हुनेछ भने स्पेन १६ वर्षपछि विश्वकपको उपाधि पुनः जित्ने अभियानमा मैदान उत्रिनेछ।

Untitled
Untitled
Untitled