काठमाण्डू, नेपालमा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) को संक्रमण फैलिँदै जाँदा देशको कुखुरा उद्योग गम्भीर संकटमा परेको छ।
विभिन्न जिल्लाका व्यावसायिक फार्ममा संक्रमण पुष्टि भएपछि लाखौं कुखुरा, अण्डा र दाना नष्ट गर्नुपर्ने अवस्था आएको छ, जसले किसानको ठूलो लगानी जोखिममा परेको छ भने बजार, उपभोक्ताको विश्वास र खाद्य सुरक्षामा समेत असर देखिन थालेको छ।
पशुपन्छी क्षेत्रमा बेलाबेला देखिने बर्डफ्लु यसपटक भने अपेक्षाभन्दा फराकिलो रूपमा फैलिएको सरोकारवालाहरूको भनाइ छ।
शुरुमा सीमित फार्ममा देखिएको संक्रमण अहिले विभिन्न जिल्लामा फैलिँदै जाँदा कुखुरा पालक किसानसँगै ह्याचरी, दाना उद्योग, ढुवानी व्यवसाय, खुद्रा व्यापारी र यस क्षेत्रमा आश्रित हजारौं श्रमिक प्रत्यक्ष प्रभावित भएका छन्।
डेढ खर्ब रुपैयाँको उद्योग दबाबमा
पोल्ट्री व्यवसायीका अनुसार नेपालको कुखुरा उद्योगमा करिब डेढ खर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ।
लाखौं मानिसको रोजगारीसँग जोडिएको यो क्षेत्र अहिले उत्पादन घट्नु, बजार खस्किनु र उपभोक्तामा त्रास फैलिनुका कारण बहुआयामिक संकटमा परेको छ।
पोल्ट्री व्यवसायी दयाराम महतका अनुसार संक्रमणले उत्पादनभन्दा बढी उपभोक्ताको मनोविज्ञानमा असर गरेको छ।
विशेषगरी काठमाडौं उपत्यकामा कुखुराको मासु र अण्डाको दैनिक बिक्री २० देखि ३० प्रतिशतसम्म घटेको उनले बताए।
उनका अनुसार वैज्ञानिक रूपमा सुरक्षित मासु र अण्डा सेवन गर्दा जोखिम नहुने भएपनि सामाजिक सञ्जालमा फैलिएका भ्रम र अफवाहका कारण उपभोक्ताले कुखुराजन्य उत्पादन खरिद गर्न हिच्किचाइरहेका छन्।
लाखौं कुखुरा नष्ट, किसानको लगानी डुब्ने जोखिम
संक्रमण पुष्टि भएका फार्ममा रोग नियन्त्रणका लागि लाखौं कुखुरा, अण्डा तथा ठूलो परिमाणमा दाना नष्ट गरिएको छ।
यसले किसानको वर्षौंको लगानी एकैपटक समाप्त हुने अवस्था सिर्जना गरेको छ।
नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोद पोखरेलका अनुसार सरकारले क्षतिपूर्तिको व्यवस्था गरेपनि धेरै किसानले समयमै राहत नपाउँदा पुनः व्यवसाय सञ्चालन गर्न कठिनाइ भोगिरहेका छन्।
उनले प्रभावित किसानलाई शीघ्र क्षतिपूर्ति उपलब्ध गराउन सके मात्रै उद्योगलाई पुनर्जीवित गर्न सहज हुने बताए।
किन फैलिरहेको छ बर्डफ्लु ?
पशुसेवा विभागका अनुसार कमजोर जैविक सुरक्षा (बायोसेक्युरिटी) संक्रमण फैलिनुको मुख्य कारण हो।
हाल काठमाडौं उपत्यकामा संक्रमण नियन्त्रणउन्मुख देखिए पनि कोशी प्रदेशमा नियन्त्रणको चरणमा रहेको र काभ्रेपलाञ्चोकमा अझै तीव्र रूपमा फैलिरहेको जनाइएको छ।
जिल्ला पशुसेवा कार्यालय धुलिखेलका अनुसार फार्ममा अनियन्त्रित आवतजावत, असुरक्षित स्रोतबाट चल्ला खरिद, खुला रूपमा दाना तथा पानी राख्ने अभ्यास र जंगली चरासँगको सम्पर्कले भाइरस फैलन सहज बनाइरहेको छ।
पशु चिकित्सक डा। मनोजकुमार शाहीका अनुसार संक्रमित कुखुरा नष्ट गर्नु मात्रै समाधान होइन।
प्रत्येक फार्ममा कडा जैविक सुरक्षा अपनाउने, नियमित परीक्षण गर्ने र रोग निगरानी प्रणालीलाई प्रभावकारी बनाउने हो भने यस्ता संक्रमण नियन्त्रण गर्न सकिने उनले बताए।
मानव स्वास्थ्यमा पनि सतर्कता आवश्यक
बर्डफ्लु मुख्यतः चराचुरुङ्गीमा देखिने रोग भए पनि केही प्रकारका भाइरस मानिसमा पनि सर्न सक्ने भएकाले यसलाई जुनोटिक रोग मानिन्छ।
यद्यपि यस वर्ष नेपालमा मानिसमा संक्रमण पुष्टि भएको छैन।
स्वास्थ्य तथा पशु स्वास्थ्य विज्ञहरूले पशु र मानव स्वास्थ्यबीच समन्वयात्मक प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औंल्याएका छन्।
प्रभावित क्षेत्रमा नियमित निगरानी, परीक्षण र जनचेतना अभिवृद्धि गर्न सके जोखिम कम गर्न सकिने उनीहरूको भनाइ छ।
भ्रमभन्दा वैज्ञानिक तथ्यमा विश्वास गर्न आग्रह
व्यवसायीहरूका अनुसार सामाजिक सञ्जालमा फैलिएका अपुष्ट सूचना र अफवाहले बजार झन् प्रभावित भएको छ।
विशेषज्ञहरूका अनुसार स्वस्थ स्रोतबाट प्राप्त कुखुराको मासु र अण्डा राम्रोसँग पकाएर सेवन गर्दा स्वास्थ्यमा कुनै जोखिम हुँदैन।
त्यसैले सरकारी निकाय, स्वास्थ्यकर्मी र सञ्चार माध्यमले तथ्यमा आधारित सूचना प्रवाह गरी उपभोक्तामा फैलिएको भ्रम हटाउन आवश्यक रहेको उनीहरूको सुझाव छ।
दीर्घकालीन सुधारको अवसर पनि
पशु चिकित्सक डा. वज्रकिशोर ठाकुरका अनुसार बर्डफ्लुको यो संकटले नेपालको पोल्ट्री क्षेत्रमा दीर्घकालीन सुधारको आवश्यकता स्पष्ट पारेको छ।
आधुनिक प्रयोगशाला विस्तार, द्रुत परीक्षण प्रणाली, प्रभावकारी रोग निगरानी, किसानमैत्री बिमा, समयमै क्षतिपूर्ति र जैविक सुरक्षामा लगानी बढाउन सके भविष्यमा यस्ता महामारीबाट हुने क्षति धेरै हदसम्म घटाउन सकिने उनको भनाइ छ।
कृषि अर्थतन्त्रको महत्वपूर्ण आधार बनेको नेपाली कुखुरा उद्योगलाई सुरक्षित राख्न सरकार, निजी क्षेत्र, किसान र उपभोक्ताबीच प्रभावकारी सहकार्य अपरिहार्य भएको सरोकारवालाहरूको निष्कर्ष छ।
समयमै वैज्ञानिक व्यवस्थापन, स्पष्ट नीति र प्रभावकारी हस्तक्षेप गर्न सके बर्डफ्लुको चुनौतीलाई अवसरमा रूपान्तरण गर्दै उद्योगलाई दीर्घकालीन रूपमा सुदृढ बनाउन सकिने विश्वास व्यक्त गरिएको छ।




































