इनरुवा, पूर्वी नेपालमा लगातार वर्षा भइरहेका कारण सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढ्न थालेको छ।
बुधबार साँझसम्म कोशी ब्यारेजमा पानीको बहाव १ लाख ६३ हजार २३० क्युसेक पुगेपछि सतर्कता अपनाइएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार बढ्दो बहावलाई व्यवस्थापन गर्न कोशी ब्यारेजका ५६ मध्ये २१ वटा ढोका खोलिएको छ।
ब्यारेजमा ५२ वटा मुख्य ढोका र चार वटा नहरका ढोका गरी कुल ५६ वटा संरचना रहेका छन्।
कोसी ब्यारेज नियन्त्रण कक्षका अनुसार नदीमा पानीको बहाव १ लाख ५० हजार क्युसेकभन्दा माथि पुगेपछि जोखिमको संकेतस्वरूप ब्यारेज क्षेत्रमा रातो बत्ती बाल्ने र रातो झण्डा फहराउने व्यवस्था गरिएको छ।
यसले नदीको बहाव खतराको तहमा पुगेको संकेत दिने भएकाले नदी आसपासका बासिन्दा र सरोकारवालालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसमविद्हरूले पूर्वी पहाडी जिल्लाहरूमा अझै वर्षा जारी रहने पूर्वानुमान गरेका छन्।
त्यसका कारण आगामी घण्टाहरूमा सप्तकोसीसहित यसका सहायक नदीहरूमा पानीको सतह थप बढ्न सक्ने सम्भावना रहेको छ।
नेपालकै सबैभन्दा ठूलो नदी प्रणाली मानिने सप्तकोशीमा तमोर, अरुण, सुनकोसी, दूधकोशी, तामाकोसी, भोटेकोशी र इन्द्रावती नदीको पानी मिसिन्छ।
मनसुन सक्रिय भएसँगै यी नदीहरूको बहाव बढ्दा सप्तकोसीले उग्र रूप लिने गरेको छ।
हरेक वर्ष असारदेखि भदौसम्म पूर्वी पहाड र तराईमा हुने भारी वर्षाका कारण सप्तकोशी आसपासका क्षेत्रमा डुबान, कटान र बाढीको जोखिम उल्लेखनीय रूपमा बढ्ने गर्छ।
त्यसैले प्रशासनले नदी किनारका बासिन्दालाई सतर्क रहन, अनावश्यक रूपमा नदी आसपास नजान तथा आधिकारिक निकायबाट जारी हुने सूचना नियमित रूपमा पछ्याउन आग्रह गरेको छ।




































