एजेन्सी, दक्षिणी युरोपमा जारी अत्यधिक गर्मी र डढेलोको संकटबीच स्पेनको दक्षिण–पूर्वी प्रान्त अल्मेरियामा लागेको भीषण वनडढेलोमा कम्तीमा १२ जनाको ज्यान गएको छ भने अन्य ६ जना घाइते भएका छन्।
घटनाले स्पेनमा यस वर्षको सबैभन्दा घातक डढेलोमध्ये एकको रूप लिएको छ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अल्मेरियाको लोस गायार्दोस क्षेत्रमा लागेको आगो तीव्र गतिमा फैलिँदा धेरै मानिसहरू भाग्न नपाई फसेका थिए।
उद्धार टोलीले आगोले जलेका केही सवारीसाधनभित्र मृत अवस्थामा व्यक्तिहरू फेला पारेको जनाएको छ।
घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ, जसमा केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
प्रत्यक्षदर्शीहरूले प्रारम्भिक रूपमा विद्युत् प्रसारण लाइन खसेपछि आगो सल्किएको र केही मिनेटमै त्यसले नजिकैको जंगल तथा बस्तीलाई घेरेको बताएका छन्।
यद्यपि, स्पेनी अधिकारीहरूले डढेलोको वास्तविक कारणबारे औपचारिक पुष्टि हुन बाँकी रहेको जनाउँदै घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको जानकारी दिएका छन्।
पछिल्ला केही दिनदेखि स्पेनसहित दक्षिणी युरोपका विभिन्न देशमा तापक्रम करिब ४० डिग्री सेल्सियस नाघेको छ।
लामो समयदेखि जारी हीटवेभ, सुक्खा मौसम र तीव्र हावाका कारण वन क्षेत्रमा आगो तीव्र गतिमा फैलिएको मौसमविद्हरूले बताएका छन्।
स्पेनसँगै फ्रान्स र पोर्चुगल पनि डढेलोको गम्भीर संकटसँग जुधिरहेका छन्। ती देशमा सयौँ अग्निनियन्त्रक, हेलिकप्टर र विशेष उद्धार टोलीहरू आगो नियन्त्रणमा खटिएका छन्।
आगो बस्ती नजिक फैलिन थालेपछि हजारौँ स्थानीयवासीलाई सुरक्षित स्थानमा सारिएको छ।
स्पेनी सरकारले प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य तीव्र बनाएको छ भने डढेलो नियन्त्रणमा ल्याउन थप अग्निनियन्त्रक र आपतकालीन स्रोतसाधन परिचालन गरेको जनाएको छ।
जलवायु परिवर्तनका कारण युरोपमा अत्यधिक गर्मी, लामो खडेरी र वनडढेलोका घटना पछिल्ला वर्षहरूमा लगातार बढ्दै गइरहेका छन्।
मौसमविद्हरूले आगामी केही दिन पनि तापक्रम उच्च रहने पूर्वानुमान गरेका छन्, जसका कारण थप डढेलो फैलिन सक्ने जोखिम रहेको भन्दै स्थानीय प्रशासनले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।



































