२०८३ जेठ २२ शुक्रवार | Friday, Jun 05 2026

पश्चिमी प्रणालीको प्रभाव: पहाडमा वर्षा, तराईमा तातो लहरको जोखिम

Untitled
Untitled
Untitled

काठमाण्डू, देशका विभिन्न भागमा मौसममा उतारचढाव देखिने क्रम जारी रहने भएको छ।

पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायु सक्रिय रहेकाले पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा बदली, वर्षा तथा चट्याङको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बादल लागेको अवस्था छ।

गण्डकी, लुम्बिनी, कर्णाली, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि वर्षाको प्रभाव देखिएको छ।

आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने सम्भावना रहेको छ।

अन्य पहाडी तथा हिमाली भू–भागमा पनि छिटपुट वर्षा हुने अनुमान गरिएको छ।

तराईका केही क्षेत्रमा समेत मौसम बदली भई वर्षा हुन सक्ने भएपनि गर्मीको प्रभाव भने पूर्ण रूपमा कम नहुने मौसमविद्ले बताएका छन्।

विशेषगरी मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो हावाको प्रभाव कायम रहने देखिएको छ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई जिल्लामा पनि तापक्रम बढ्न सक्ने भएकाले गर्मीजन्य समस्या बढ्ने जोखिम रहेको छ।

आज राति पनि पहाडी तथा हिमाली क्षेत्रमा बदली कायम रहने सम्भावना छ।

कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान गरिएको छ।

उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।

मौसमविद्का अनुसार एकातर्फ वर्षा र अर्कोतर्फ तराई क्षेत्रमा बढ्दो गर्मीले जनजीवन प्रभावित हुन सक्ने भएकाले नागरिकलाई सतर्क रहन आग्रह गरिएको छ।

विशेषगरी बर्दिया, बाँके, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपरासी (पश्चिम), पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा र सप्तरी जिल्लामा आगामी केही दिन तापक्रम उच्च रहन सक्ने अनुमान छ।

स्वास्थ्यमा प्रतिकूल असर पर्न नदिन दिउँसोको चर्को घाममा लामो समय नबस्न, पर्याप्त पानी तथा झोल पदार्थ सेवन गर्न, हल्का कपडा लगाउन र बाहिर निस्कँदा छाता वा टोपी प्रयोग गर्न महाशाखाले सुझाव दिएको छ।

साथै वर्षा, चट्याङ र तातो लहरसम्बन्धी अद्यावधिक मौसम सूचनालाई नियमित रूपमा पछ्याउन पनि आग्रह गरिएको छ।

Untitled
Untitled
Untitled