२०८३ जेठ २२ शुक्रवार | Friday, Jun 05 2026

रावाबेँसीमा २६ लाखको कृषि उपकरण वितरण, कृषि यान्त्रीकरणतर्फ कदम

Untitled
Untitled
Untitled

खोटाङ, कृषि उत्पादनलाई व्यावसायिक, प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत रावाबेँसी गाउँपालिकाले किसानलाई रु २६ लाखभन्दा बढी मूल्यका आधुनिक कृषि सामग्री वितरण गरेको छ।

गाउँपालिकाले ७५ प्रतिशत अनुदान र २५ प्रतिशत किसानको लागत सहभागितामा खरिद गरिएका उपकरण कृषि समूह, सहकारी संस्था तथा कृषि उद्यमीलाई हस्तान्तरण गरेको हो।

कृषि क्षेत्रमा यान्त्रीकरण विस्तार गरी उत्पादन लागत घटाउने, श्रम अभावको समस्या समाधान गर्ने तथा किसानको आम्दानी वृद्धि गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।

वडा कार्यालयको सिफारिस र कृषि विकास समितिको छनोटपछि आवश्यकताका आधारमा कृषक तथा कृषि संस्थालाई सामग्री उपलब्ध गराइएको कृषि शाखाले जनाएको छ।

पालिकाले आधुनिक उपकरणको प्रयोगले खेतीपातीलाई सहज, छिटो र प्रभावकारी बनाउने विश्वास लिएको छ ।

परम्परागत कृषि प्रणालीबाट आधुनिक कृषि प्रविधितर्फ किसानलाई आकर्षित गर्न यस्ता कार्यक्रमलाई निरन्तरता दिने योजना पालिकाको छ ।

कृषि नै स्थानीय अर्थतन्त्रको मुख्य आधार भएकाले उत्पादन वृद्धि र कृषकको जीवनस्तर उकास्न प्रविधिमा लगानी बढाइएको पालिकाको भनाइ छ ।

पालिकाले खेतीयोग्य जमिनको अधिकतम उपयोग गर्दै उत्पादन र उत्पादकत्व बढाउने लक्ष्यअनुसार आधुनिक उपकरण वितरण गरिएको जनाएको छ ।

वितरण गरिएका सामग्रीमा ३३ वटा मिनीटिलर, आठ वटा थ्रेसर, १३ वटा ब्रसकटर, पाँच वटा अर्थअगर, ५२ वटा इलेक्ट्रिक स्प्रेयर, ४२ वटा सिँचाइ हजारी, ११२ वटा आधुनिक मौरीघार तथा आठ वटा फलफूल छाँट्ने सिकेचर रहेका छन्।

यी उपकरणले खेत जोत्न, बाली भित्र्याउन, सिँचाइ व्यवस्थापन, विषादी छर्कन तथा मौरीपालन व्यवसायलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

अनुदानमा आधुनिक उपकरण प्राप्त भएपछि स्थानीय किसान उत्साहित बनेका छन्।

कृषकहरूका अनुसार महँगो उपकरण खरिद गर्न नसक्ने अवस्था रहेकाले गाउँपालिकाको सहयोगले कृषि कार्यलाई थप सहज बनाएको छ।

आधुनिक प्रविधिको प्रयोगले उत्पादन लागत घट्नुका साथै समय र श्रमको पनि बचत हुने उनीहरूको भनाइ छ।

रावाबेँसी गाउँपालिका जिल्लामै कृषि उत्पादनका हिसाबले अग्रणी स्थानीय तहमध्ये एक मानिन्छ।

यहाँ धान, मकै, गहुँ, कोदो, फापर तथा विभिन्न फलफूलको उत्पादन व्यावसायिक रूपमा हुँदै आएको छ।

विशेषगरी लिची उत्पादनका लागि परिचित यस क्षेत्रमा हरेक वर्ष लाखौँ रुपैयाँको कारोबार हुने गरेको छ।

गाउँपालिकाको तथ्याङ्कअनुसार गत वर्ष लिची बिक्रीबाट मात्रै रु ९५ लाख ६८ हजार आम्दानी भएको थियो।

किसानहरूले गाउँमै प्रतिकिलो रु ५२ सम्ममा लिची बिक्री गरेका थिए।

वडा नं. १ कुभिण्डेका किसानले यस वर्ष एउटा लिचीको बोटबाट उत्पादन भएको फल मात्रै रु ४५ हजारमा बिक्री गर्ने गरेका छन् ।

यद्यपि किसानहरूले उत्पादन बढे पनि बजार व्यवस्थापन, भण्डारण र प्रशोधन उद्योगको अभावले अपेक्षित लाभ लिन नसकेको गुनासो गरेका छन्।

उनीहरूले लिचीलगायत कृषि उत्पादनको मूल्य अभिवृद्धि गर्न स्थानीय, प्रदेश र सङ्घीय सरकारले प्रशोधन केन्द्र तथा उद्योग स्थापना गर्न पहल गर्नुपर्ने माग गरेका छन्।

कृषि विज्ञहरूका अनुसार उत्पादन वृद्धि मात्र पर्याप्त नभई बजार सुनिश्चितता, प्रशोधन, ब्रान्डिङ र मूल्य शृङ्खलाको विकास आवश्यक छ।

यस्ता पूर्वाधार विकास भए रावाबेँसीलाई फलफूल तथा खाद्यान्न उत्पादनको प्रमुख कृषि केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ।

रावाखोला फाँटमा उत्पादन हुने धान तथा अन्य कृषि उपज काठमाडौँसहित देशका विभिन्न बजारमा पुग्ने गरेका छन्।

आधुनिक कृषि उपकरणको प्रयोग बढ्दै जाँदा स्थानीय कृषि क्षेत्र थप व्यावसायिक, उत्पादनमुखी र आत्मनिर्भर बन्ने अपेक्षा गरिएको छ।

Untitled
Untitled
Untitled