२०८२ वैशाख १० बुधवार | Wednesday, Apr 23 2025

बढ्न थाले विमान दुर्घटनापछि पातलिँदै गएको पोखराबाट उड्ने हवाइ यात्रु

Untitled
Untitled
Untitled

पोखरा, माघ १ गते पोखरामा भएको विमान दुर्घटनापछि पातलिँदैगएको विमान उडान अहिले क्रमशः लयमा फर्किन थालेको छ ।

माघको पहिलो हप्ता ठप्प रहेको विमानस्थलमा तेस्रो सातातिर आइपुग्दा यात्रुको सङ्ख्यामा वृद्धि भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख विक्रमराज गौतमले विमानस्थल सञ्चालन अन्तर्राष्ट्रिय हवाई उड्डयन संस्था (आइकाओ) को मूल्य र मान्यताअनुरूप भएकाले जहाज चढ्ने यात्रुलाई ढुक्क भएर यात्रा गर्न आग्रह समेत गरे ।

उनले दुर्घटना बाजा बजाएर आउँदैन, यसलाई भवितव्यको रूपमा लिनुपर्ने बताए । पोखराको अन्तर्राष्ट्रिय विमानस्थल र पोखरामा हुने एयरलाइन्समा कुनै खराबी नभएकाले हवाई यात्रालाई सुरक्षित ठान्न उनले यात्रुहरूलाई आग्रह गरे ।

पोखरा आउने पर्यटकको रोजाइमा हवाई यात्रा नै रहेकाले पर्यटन व्यवसायले पनि सहजीकरण गर्नुपर्ने प्रमुख गौतमको भनाइ छ ।

‘विशेषतः यो समय पोखरामा अफसिजन चलिरहेको छ, त्यसमा पनि विमान दुर्घटनाले यात्रुहरू घटाएको हो ।

मानिसमा मनोवैज्ञानिक असर परेर होला यात्रुको सङ्ख्या पहिलेको तुलनामा कमी नै छ’ प्रमुख गौतमले भने ।

पोखराबाट कुनै समय दैनिक ४ हजार यात्रुसम्म आवतजावत गरेको विमानस्थलको रेकर्ड छ ।

हिजो र आज यती एयरलाइन्सबाट यात्रा गरेर पोखरा आएका पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले यात्रामा हुने भयलाई दूर गर्न आग्रह गरे ।

यती एयरलाइन्सका पोखरा प्रमुख राम लामिछानेले आफ्नो कम्पनीमा यात्रुको चाप बिस्तारै बढ्दै गएकाले उडान सङ्ख्या थप्न लागेको बताए ।

बुद्ध एयरका स्टेसन इन्चार्ज गौतम बरालले भोलिका लागि १२ वटा उडान तालिका रहेको बताए ।

उनले भने , ‘पोखरा–काठमाडौँ, पोखरा–भैरहवा, पोखरा–भरतपुर, पोखरा–नेपालगञ्जका लागि उडान तालिका छ, जसमा ६० देखि ७० प्रतिशत हवाई यात्रु रहेका छन् ।’

सौर्य एयरलाइन्सका स्टेसन इन्चार्ज नवजित केसीले पोखराबाट जानेभन्दा काठमाडौंबाट आउनेको सङ्ख्या बढ्न थालेको बताए ।

गत वर्ष जनवरीमा २ हजार ४ सय ८२ उडान सङ्ख्या रहे पनि समीक्षा अवधिमा यस वर्षको जनवरीमा १ हजार ८ सय ६७ उडान सङ्ख्या रहेका छन् ।

जसमा गत वर्ष ३२ हजार ७ सय ३० यात्रुले उडान भरेका थिए भने यस वर्ष २८ हजार ८ सय ६९ ले यात्रा गरेको विमानस्थलका राजस्व अधिकृत देवराज सुवेदीले जानकारी दिए ।

हवाई दुर्घटना भएपछि यात्रुको सङ्ख्यमा कमी आएकोमा माघको तेस्रो साताबाट भने पोखराको हवाई उडानमा यात्रुहरूको सङ्ख्या बढ्न थालेको सुवेदीले बताए ।

Untitled
Untitled
Untitled