२०८३ असार २२ सोमवार | Monday, Jul 06 2026

आज रातिदेखि कान्ति लोकपथमा राति ७ देखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक

Untitled
Untitled
Untitled

काठमाण्डौ । निरन्तरको वर्षासँगै मनसुनजन्य विपद्को जोखिम बढेपछि स्थानीय प्रशासनले कान्ति लोकपथमा रातिको समयमा यात्रुबाहक सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

जिल्ला प्रशासन कार्यालय ललितपुरले सोमबार जारी गरेको सूचनाअनुसार आज रातिदेखि अर्को सूचना जारी नभएसम्म कान्ति लोकपथ हुँदै मकवानपुर–सिन्धुली आवतजावत गर्ने सार्वजनिक तथा निजी यात्रुबाहक सवारीसाधन साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न पाइने छैन।

प्रशासनका अनुसार मनसुन सक्रिय भएसँगै कान्ति लोकपथका विभिन्न स्थानमा पहिरो खस्ने, ढुंगा झर्ने, सडक भासिने तथा अचानक सडक अवरुद्ध हुने सम्भावना उच्च बनेको छ।

विशेषगरी रातिको समयमा दृश्यता कम हुने र आकस्मिक उद्धार तथा राहतका कामसमेत प्रभावित हुन सक्ने भएकाले यात्रुको सुरक्षालाई ध्यानमा राख्दै रात्रीकालीन सवारी आवागमनमा अस्थायी प्रतिबन्ध लगाइएको हो।

प्रशासनले कान्ति लोकपथको अधिकांश भाग भिरालो तथा भूगर्भीय रूपमा संवेदनशील क्षेत्रमा पर्ने भएकाले वर्षायाममा कुनै पनि बेला प्राकृतिक विपद् निम्तिन सक्ने जनाएको छ।

अघिल्ला वर्षहरूमा समेत वर्षाका कारण पहिरो खस्दा सडक अवरुद्ध हुने र यात्रु घण्टौं अलपत्र पर्ने घटनाहरू दोहोरिएकाले यसपटक जोखिम न्यूनीकरणका लागि पूर्वसावधानीस्वरूप यस्तो निर्णय गरिएको प्रशासनको भनाइ छ।

प्रशासनले अत्यावश्यक कामबाहेक रातिको यात्रा नगर्न, सुरक्षित वैकल्पिक मार्ग प्रयोग गर्न तथा मौसम र सडक अवस्थासम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन सबै यात्रु, सवारी चालक र यातायात व्यवसायीलाई आग्रह गरेको छ।

मनसुनको अवस्था, वर्षाको तीव्रता तथा सडकको सुरक्षा अवस्थाको निरन्तर मूल्याङ्कन गरिने जनाउँदै प्रशासनले जोखिम कम भएपछि मात्र प्रतिबन्ध फुकुवा गर्ने वा समयावधिमा आवश्यक परिमार्जन गर्ने जनाएको छ।

Untitled
Untitled
Untitled