काठमाण्डौ । देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी भू–भागतर्फ सरदर स्थानको आसपास रहेको छ।
हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेश प्रदेशमा आंशिक बदली रहेको विभागले जनाएको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको छ।
विभागका अनुसार सोमबार दिउँसो देशका हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्य बदली रहने अनुमान गरिएको छ भने कोशी, मधेश र बागमती प्रदेशका तराई भू–भागमा आंशिक बदली रहनेछ।
देशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
साथै, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा कोशी प्रदेशको तराई र मधेस प्रदेशका एक–दुई स्थानमा पनि यस्तै प्रकृतिको वर्षा हुन सक्ने विभागले जनाएको छ।
मधेश प्रदेश तथा कोशी र बागमती प्रदेशका तराई क्षेत्रमा हावाहुरी चल्ने सम्भावनासमेत रहेको छ।
आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
त्यस्तै, कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थान, मधेश प्रदेश, कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा बागमती प्रदेशका पहाडी र तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
विभागले कोशी, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।




































