२०८३ असार २२ सोमवार | Monday, Jul 06 2026

कांग्रेस संस्थापनइतर समूह सक्रिय, महाधिवेशन तयारी केन्द्रित बैठक बस्दै

Untitled
Untitled
Untitled

काठमाण्डौ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले पार्टीको आगामी १५औँ महाधिवेशनलाई लक्षित गर्दै आज महत्वपूर्ण बैठक आयोजना गरेको छ।

१४औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरू सहभागी हुने बैठकबाट संगठनात्मक पुनर्गठनदेखि महाधिवेशन रणनीतिसम्मका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

दिउँसो १ बजे काठमाडौंको चुनदेवीस्थित नवस्थापित सम्पर्क कार्यालयमा बस्ने बैठकलाई संस्थापनइतर समूहले आगामी राजनीतिक गतिविधिको प्रारम्भिक केन्द्रका रूपमा लिएको छ।

निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सचिवालयका अनुसार काठमाडौं उपत्यकामा उपलब्ध पूर्वपदाधिकारी र पूर्वकेन्द्रीय सदस्यहरूलाई बैठकमा सहभागी हुन आह्वान गरिएको छ।

नेताहरूका अनुसार बैठक केवल औपचारिक जमघट मात्र नभई महाधिवेशनको तयारी, संगठन सुदृढीकरण, पार्टीभित्रको शक्ति समीकरण र वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिबारे साझा धारणा निर्माण गर्ने उद्देश्यले बोलाइएको हो।

गत शुक्रबार खड्काको गल्फुटारस्थित निवासमा भएको शीर्ष नेताहरूको छलफलले बैठक आयोजना गर्ने निर्णय गरेको थियो।

सोही अवसरमा चुनदेवी सम्पर्क कार्यालयलाई संस्थापनइतर समूहका आगामी कार्यक्रम, समन्वय र रणनीतिक गतिविधिको केन्द्र बनाउने सहमति पनि भएको थियो।

समूहका नेता मीन विश्वकर्माले सम्पर्क कार्यालयबाट महाधिवेशन केन्द्रित बैठक, छलफल, संगठन विस्तार तथा कार्यकर्ता परिचालनका कार्यक्रम सञ्चालन गरिने जानकारी दिएका छन्।

उनका अनुसार सातै प्रदेशमा संगठनात्मक भेला सम्पन्न भइसकेकाले अब राष्ट्रिय भेला आयोजना गर्ने तयारी तीव्र बनाइएको छ।

प्रदेशस्तरीय भेलाहरूमा कांग्रेसले पछिल्लो निर्वाचनमा भोगेको पराजय, संगठनको अवस्था, नेतृत्वको कार्यशैली र पार्टी एकतालाई बलियो बनाउने विषयमा व्यापक समीक्षा भएको विश्वकर्माले बताएका छन्।

ती सुझावलाई समेटेर राष्ट्रिय भेलामार्फत आगामी महाधिवेशनका लागि साझा रणनीति तय गर्ने तयारी भइरहेको उनले उल्लेख गरे।

आजको बैठकबाट राष्ट्रिय भेलाको मिति निर्धारण हुनुका साथै आगामी राजनीतिक कार्यक्रम, संगठनात्मक अभियान र महाधिवेशन लक्षित कार्ययोजनाबारे पनि महत्वपूर्ण निर्णय हुन सक्ने कांग्रेस वृत्तमा चर्चा छ।

Untitled
Untitled
Untitled