२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

लुम्बिनीमा एकैपटक ५ सयलाई भिक्षु बनाइँदै

Untitled
Untitled
Untitled

भैरहवा, लुम्बिनीमा यही फागुन २० गते ५ सय जनालाई अस्थायी भिक्षु (अल्पकालीन प्रबज्या)बनाइने भएको छ।

अखिल नेपाल भिक्षु महासंघ, थाई इन्डिया–नेपाल धर्मदूत र नेपालले थाइल्यान्डको धम्मकाय फाउन्डेसनको सहयोगमा अल्पकालीन कुलपुत्र प्रबज्या कार्यक्रमअन्तर्गत भिक्षु बनाउने कार्यक्रम गर्न लागेको हो।

थाई राजकीय विहार सहआयोजक र प्रबज्या नेपालले व्यवस्थापन गर्ने छ। यसमा लुम्बिनी विकास कोष, नेपाल पर्यटन बोर्ड, धर्मोदय सभालगायत संघसंस्थाको सहयोगी भूमिकामा रहनेछ।

लुम्बिनीलाई विश्वको शान्ति तथा आध्यात्मिक केन्द्रका रूपमा प्रचारप्रसार गर्ने, मानिसहरूमा आध्यात्मिक ज्ञान तथा चेतना वृद्धि गराउने र लुम्बिनी घुम्न आउने पर्यटकहरूको संख्या वृद्धि गर्ने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको थाई इन्डिया–नेपाल धर्मदूतका अध्यक्ष भिक्षु थावरले पत्रकार भेटघाटमा जानकारी गराए ।

भिक्षु थावरका अनुसार फागुन २० गते लुम्बिनीमा भिक्षु अर्थात् श्रामणेर बनाइनेछ । उनीहरू १५ दिनसम्म भिक्षु भएर बस्नुपर्ने छ।

थाइल्यान्डका प्रसिद्ध भिक्षु फ्रा फ्रोमसीनावादीको उपाध्याय र अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष धम्मशोभन महास्थविरको उपस्थितिमा भिक्षु (प्रबजित) बनाइने छ । यसमा नेपालीहरूसँगै थाइल्यान्डका नागरिकहरू पनि सहभागी हुनेछन्।

त्यसपछि फागुन २२ गते लुम्बिनी परिसरमा भिक्षाटन र फागुन २४ गते लुम्बिनीमा दीप प्रज्वलन गरिनेछ ।

त्यस्तै, चैत २ गते बिहान देवदह, बुटवल र रामग्राममा र दिउँसो लुम्बिनीमा धम्मयात्रा हुनेछ ।

चैत ३ गते सहभागीहरूलाई प्रमाणपत्र वितरण र चैत ४ र ५ गते कपिलवस्तुमा भिक्षाटन कार्यक्रम सकिएपछि भिक्षु भएकाहरू गृहस्थ जीवनमा फर्किनेछन् ।

बाँकी दिनमा बुद्धको व्यावहारिक, वैज्ञानिक ज्ञान, ध्यान र मैत्री, करुणा बढाउने साधना सिकाइने प्रबज्या सामाजिक नेपालका सचिव भिक्षु पञ्चामूर्तिले पत्रकार भेटघाटमा बताए ।

भिक्षु बन्न इच्छुक व्यक्तिले फागुन १४ गतेभित्रमा नाम दर्ता गराउन सक्नेछ । कार्यक्रम भाग लिन कुनै शुल्क लाग्ने छैन् ।

पुल्चोकस्थित अक्षेश्वर महाविहार र लुम्बिनी हलमा नाम दर्ता गराउन सम्पर्क केन्द्र तोकिएको छ ।

‘जुनसुकै समुदाय, देशका इच्छुक व्यक्तिले भिक्षु बन्नका लागि नाम दर्ता गराउन सक्नेछ । यसमा जात, थरको बन्देज छैन’ –अखिल नेपाल भिक्षु महासंघका सचिव भिक्षु निग्रोधले भने ।

भिक्षु हुन्जेलसम्म दिनको एक छाकमात्र खानेसहित दशवटा विनयनियम पालना गर्नुपर्ने छ।

१५ दिनभित्रमा सहभागीहरूले भिक्षु जीवनको अनुभूति गर्दै बुद्धको ज्ञान र दर्शनको आधारभूत विषयमा सैद्धान्तिक र व्यावहारिक ज्ञान प्राप्त गर्ने छन्।

यसले गृहस्थ जीवनमा सकारात्मक सोच, शान्ति र तनावरहित तवरले जीवन बिताउन टेवा पुर्‍याउने ध्यान गुरु भिक्षु बोधिज्ञान महास्थविरको भनाइ रहेको छ।

सो कार्यक्रम २०६८ सालमा १ सय ११ जना भिक्षु बनाएसँगै निरन्तर सञ्चालन हुँदै आएको छ।

यसअघि १ हजार १ सय १२ जना, १ सय ५० जना, १ हजार १ सय १९ जना, ५ सय जना र १ हजार २ सय ५० जना गरी अलगअलग भिक्षु बनाउने कार्यक्रम सम्पन्न भइसकेको छ।

Untitled
Untitled
Untitled