२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सामुदायिक भवन निर्माण नगर्दै रोकियो काम, सत्रौं शताब्दीको मल्लकालीन ढुंगेधारा भेटियो

Untitled
Untitled
Untitled

काठमाण्डू, काठमाडौं महानगरपालिका–३२ कोटेश्वर महादेवस्थानमा सामुदायिक भवन निर्माण शुरू गर्न नपाउँदै रोकिएको छ।

भवन निर्माण स्थानमा १७औं शताब्दीको मल्लकालीन ढुंगेधारा भेटिएपछि निर्माण रोकिएको हो।

ढुंगेधारामाथि भवन बनाउन लागेको भन्दै तात्कालीन कामपाका सम्पदा सल्लाहकार यादवलाल कायस्थले उत्खनन शुरू गरेका थिए ।

कामपा सम्पदा विभाग र पुरातत्व विभागको विज्ञसहितको टोलीले उत्खनन शुरू गरेको करिब दुई सातापछि जग खनेको स्थानमा ढुंगेधारा फेला परेको छ ।

ढुंगेधारा भएको स्थानमा दाचि अपाले वरिपरि घेरिएको स्थानमा धारा देखिएको छ । करिब २० फिट खनेपछि ढुंगेधारा भेटिएको थियो।

यसअघि ढुंगेधारामाथि सामुदायिक भवन बन्न लागेपछि तत्कालीन सम्पदा सल्लाहकार कायस्थले उत्खनन गर्न माग गर्दै भवन निर्माणमा रोक लगाएका थिए ।

करिब एक महिनाअघि भवन निर्माण रोकेर कायस्थले उत्खनन गर्न आग्रह गर्दै पुरातत्व विभागमा पत्र दिएका थिए । विभागले तत्काल उत्खनन शुरू गरेको थियो।

‘उत्खनन गरेको दुई सातामै ढुंगेघारा फेला परेको छ, अब मुहान खोज्न शुरू भएको छ’ –अभियन्ता कायस्थले भने ।

सम्पदा सल्लाहकारको हैसियतमा काम रोक्न आग्रह गर्दा कामपाले अटेर गरेको थियो। त्यही झोंकमा सल्लाहकार कायस्थले राजीनामा दिएका थिए ।

कायस्थका अनुसार मेयर सचिवालयले राजीनामा स्वीकृत गरेको छैन्। ‘हाल म सम्पदा सल्लाहकारभन्दा पनि अभियन्ताको रूपमा ढुंगेधारा उत्खननमा लागेको छु’ –कायस्थले भने ।

उनका अनुसार भवन निर्माणस्थलमा ढुंगेधारा भेटिनासाथ सबै काम रोकिएको छ। महानगरकै करिब १ करोड २८ लाख लागतमा निर्माण हुन लागेको सो भवनको जग खन्न नपाउँदै काम रोकिएको हो ।

कामपा सम्पदा विभाग कुमारी राईले सामुदायिक भवन बनाउने क्रममा अभिलेख हेर्दा ढुंगेधारा भएको पाइएको, पुरातत्व विभागसहितको टोलीले उत्खनन गर्दा ढुंगेधारा भेटिएकाले अहिले थप उत्खनन गर्ने काम भइरहेको बताए ।

शुरूमा उत्खनन गर्न पनि नदिए पनि विभागले उत्खनन शुरू गर्न थालेपछि महानगरको टोली आएर सहयोग गरेको थियो ।

अभियन्ता कायस्थले अब सो स्थानमा भवन होइन ढुंगेधारा निर्माण हुने दावी गरे । सम्पदा विभाग प्रमुख राईले पुसमा बजेट संशोधन गरी सो स्थानमा ढुंगेधारा निर्माण शुरू गर्ने जानकारी दिएका छन् ।

भवन बनाउनै लाग्दा तत्कालीन सल्लाहकार कायस्थले भवन निर्माण निर्माण क्षेत्रमै पुगेर महानगरको करोडौंको बजेट भएको भवन निर्माण कार्य रोक्न लगाएका थियो ।

पुरातत्व विभाग, कामपा सम्पदा विभाग, मेयर सचिवालय, स्थानीय र स्थानीय क्लबका पदाधिकारीसँग सहमति गरेर सो क्षेत्रको ढुंगेधारा संरक्षण गर्ने निर्णय भएको थियो ।

‘करिब करिब ४ सय वर्ष पहिलेको हिटि ९ढुंगेधारा० फेला परेको छ, अब त्यसको संरक्षण हुनुपर्छ’ –कायस्थले भने ।

केही स्थानीय र स्थानीय क्लबका पदाधिकारीले पानी नआउने ढुंगेधारा चाहिँदैन भन्दै भवन निर्माणमै जोड दिइरहेका थिए, हामीले पुरातत्व विभागको टोलीको संयोजकत्वमा उत्खनन गरी ढुंगेधारा पत्ता लगाएरै छाड्यौं’ –उहाँले भने ।

विभागका पुरातत्व अधिकृत उद्धव पौडेलले काठमाडौं महानगरले बजेट राख्नेबाहेक खासै कुनै सहयोग नगरेको र सम्पदा अभियन्ता कायस्थको सल्लाहमा उत्खनन शुरू गरेको हो ।

उत्खनन गर्दा फेला परेको १७औं शताब्दीको हिटिको उत्खनन कार्य पूरा नभएको र संरक्षण कार्यमा थुप्रै चुनौती यथावत रहेको कायस्थले बताए ।

कामपा–३२ का वडा सदस्य हीरादेवी पोखरेलले भवन बनाउने स्थानमा ढुंगेधारा फेला परेको बताइन् । उनले भनिन– ‘१७औं शताब्दीको ढुंगेधारा फेला परेको छ, उत्खनन गरेपछि थप जानकारी हुनेछ ।’

कामपा सम्पदा विभाग प्रमुख राईले भवन निर्माण गर्ने स्थानमा १७औं शताब्दीको ढुंगेधारा फेला परेको जानकारी गराउँदै त्यसको मुहान पत्ता लगाएर संरक्षण गरिने जानकारी दिए ।

कामपा सार्वजनिक निर्माण विभाग प्रमुख सुरज शाक्यले ढुंगेधारा भएको स्थानमा भवन बनाउन नमिल्ने बताए ।

उनले भने – ‘अब सो क्षेत्रको उत्तर र पश्चिम क्षेत्रको खाली स्थानमा भवन निर्माण गर्नेछौं। कामपाले शुरूको टेन्डर स्थगित गरेर फेरि टेन्डर आह्वान गरेर भवन निर्माण गर्ने विषयमा निर्णय गर्नेछ।’

पुरातत्व विभागका महानिर्देशक शौभाग्य प्रधानाङ्गले भवन निर्माण स्थलमा १७औं शताब्दी पुरानो ढुंगेधारा फेला परेको बताए ।

उत्खनन भएको क्षेत्रमा सोही ढुंगेघारालाई व्यवस्थित गर्ने तथा भवन बनाउन नदिन उनले बताएका छन् ।

Untitled
Untitled
Untitled