काठमाण्डू, प्रमुख निर्वाचन आयुक्त र दुई निर्वाचन आयुक्तको नियुक्ति प्रक्रिया निर्णायक चरणमा प्रवेश गरेको छ।
सङ्घीय संसद्अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक मङ्गलबार बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बस्दै प्रस्तावित पदाधिकारीहरूको सुनुवाइ प्रक्रियालाई अघि बढाउने भएको हो।
राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा हुने बैठकमा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तका लागि सिफारिस गरिएका व्यक्तिहरूविरुद्ध परेका उजुरीमाथि छलफल गरिनेछ।
साथै, प्रस्तावित उम्मेदवारहरूले पेस गरेका कार्ययोजना सदस्यहरूलाई वितरण गरी सुनुवाइ प्रक्रियालाई व्यवस्थित बनाइने कार्यसूची तय गरिएको छ।
संवैधानिक परिषद्को असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीलाई सिफारिस गरेको थियो।
त्यस्तै निर्वाचन आयुक्त पदका लागि डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको नाम पनि परिषद्ले अनुमोदनका लागि अघि सारेको छ।
संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएपछि मात्र सम्बन्धित पदाधिकारीहरूलाई राष्ट्रपतिले औपचारिक रूपमा नियुक्त गर्ने व्यवस्था छ।
त्यसैले मंगलबारको बैठक निर्वाचन आयोगको नयाँ नेतृत्व टुंग्याउने प्रक्रियाका लागि महत्त्वपूर्ण मानिएको छ।



































