२०८३ असार ३२ बिहीवार | Thursday, Jul 16 2026

प्रिमियरबाटै ‘गौँथली’को चर्चा, सामाजिक कथावस्तु र अभिनयले जित्यो दर्शकको मन

Untitled
Untitled
Untitled

काठमाण्डू, प्रदर्शनअघि नै नेपाली चलचित्र ‘गौँथली’ले सकारात्मक माहोल सिर्जना गरेको छ।

साउन १ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको यस चलचित्रको सोमबार काठमाडौंको सिभिल महलमा आयोजित प्रिमियर शोपछि दर्शक र चलचित्रकर्मीबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको हो।

प्रिमियरमा सहभागी अधिकांशले ‘गौँथली’लाई मनोरञ्जन मात्र नभई नेपाली समाजको वास्तविकता बोल्ने संवेदनशील चलचित्रका रूपमा व्याख्या गरेका छन्।

विशेषगरी ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध, सासु–बुहारीबीचको मनोवैज्ञानिक द्वन्द्व र महिलाले भोगेका सामाजिक पीडालाई चलचित्रले स्वाभाविक ढंगले प्रस्तुत गरेको भन्दै दर्शकले प्रशंसा गरेका छन्।

चलचित्रको कथावस्तुले भावनात्मक रूपमा दर्शकसँग सम्बन्ध जोड्न सफल भएको प्रतिक्रिया प्रिमियरमा सुनियो।

शुरुदेखि अन्त्यसम्म कथाको प्रवाहले दर्शकलाई बाँधेर राख्ने, अनावश्यक दृश्य वा संवाद नभएकाले चलचित्र कतै पनि लम्बिएको अनुभूति नहुने प्रतिक्रिया धेरैले दिएका छन्।

निर्देशक डा.कपिल रिजालले समाजको यथार्थलाई कलात्मक रूपमा प्रस्तुत गरेको भन्दै उनको निर्देशनको विशेष चर्चा भएको छ।

प्रिमियरमा सबैभन्दा बढी तारिफ पाउने पक्षमध्ये अरुण क्षेत्री र सिम्रन खड्काको अभिनय पनि एक हो।

अटिजम भएका पात्रको भूमिकामा अरुणले दिएको स्वाभाविक अभिनय र बुहारीको भूमिकामा सिम्रनले प्रस्तुत गरेको भावनात्मक अभिव्यक्तिले दर्शकलाई प्रभावित बनाएको प्रतिक्रिया आएको छ।

प्रिमियरमा वरिष्ठदेखि नयाँ पुस्तासम्मका कलाकार, निर्देशक, निर्माता तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कृष्ण मल्ल, रवि डंगोल, जितु नेपाल, दिवाकर भट्टराई, रोहित अधिकारी लगायतले चलचित्रले नेपाली समाजको एउटा वास्तविक पाटोलाई इमान्दारीपूर्वक प्रस्तुत गरेको उल्लेख गर्दै ‘गौँथली’ले दर्शकको राम्रो साथ पाउने विश्वास व्यक्त गरेका छन्।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको यस चलचित्रमा मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना, राजेन्द्र नेपालीसहितका कलाकारको अभिनय रहेको छ।

बाल कलाकार अंशु ओली र प्रिन्स नेपाली पनि चलचित्रमा देखिएका छन्।

डा.भोला रिजालको कथामा आधारित ‘गौँथली’को पटकथा तथा संवाद डा. कपिल रिजाल, निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले तयार पारेका हुन्।

हरि हुमागाईंको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको यो चलचित्रले प्रिमियरबाट पाएको सकारात्मक प्रतिक्रियाले प्रदर्शनअघि नै दर्शकमाझ उत्सुकता बढाएको छ।

Untitled
Untitled
Untitled