२०८३ असार २९ सोमवार | Monday, Jul 13 2026

इङ्गल्याण्ड सेमिफाइनलमा : बेलिङ्घमको दुई गोलले नर्वेको चुनौती समाप्त

Untitled
Untitled
Untitled

एजेन्सी, स्टार मिडफिल्डर जुड बेलिङ्घमको शानदार प्रदर्शनमा इङ्गल्याण्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।

आइतबार बिहान मियामी स्टेडियममा सम्पन्न रोमाञ्चक क्वार्टरफाइनलमा इङ्गल्याण्डले नर्वेलाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो।

निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा टुंगिएपछि खेल अतिरिक्त समयमा पुगेको थियो।

अतिरिक्त समय सुरु भएको केही क्षणमै बेलिङ्घमले व्यक्तिगत दोस्रो गोल गर्दै इङ्गल्याण्डलाई जिततर्फ डोर्‍याए।

उनले पहिलो हाफको इन्जुरी समयमा पनि गोल गर्दै टोलीलाई खेलमा फर्काएका थिए।

यसअघि खेलको ३६औँ मिनेटमा आन्द्रेअस सेल्डरुपले गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए।

त्यसपछि इङ्गल्याण्डले दबाब बढाउँदै बराबरी गोल फर्कायो र खेललाई अतिरिक्त समयमा पुर्‍यायो।

दोस्रो हाफमा नर्वेले अर्को गोल गरेपनि भिडियो सहायक रेफ्रीले अर्लिङ हालान्डबाट फाउल भएको ठहर गर्दै उक्त गोललाई मान्यता दिएन। त्यसपछि नर्वेले खेलमा पुनरागमन गर्न सकेन।

खेलको अन्तिम चरण निकै प्रतिस्पर्धात्मक रह्यो। इङ्गल्याण्डका गोलकिपर जोर्डन पिकफोर्ड सामान्य चोट बोकेर पनि उत्कृष्ट बचाउ गर्दै टोलीको अग्रता जोगाउन सफल भए।

नर्वेका डिफेन्डर क्रिस्टोफर एजरले रेफ्रीसँग असन्तुष्टि जनाएपछि पहेँलो कार्ड व्यहोरे।

इङ्गल्याण्डका प्रशिक्षक थोमस टुचेलले अन्तिम समयमा रक्षापंक्ति मजबुत बनाउन गोलकर्ता बेलिङ्घमलाई बाहिर निकाल्दै डिफेन्डर ड्यान बर्नलाई मैदानमा उतारेका थिए।

उक्त रणनीतिले टोलीलाई जित सुरक्षित गर्न मद्दत पुग्यो।

२८ वर्षपछि विश्वकपमा पुनरागमन गरेको नर्वेले बलियो चुनौती प्रस्तुत गरेपनि सेमिफाइनल पुग्ने लक्ष्य पूरा गर्न सकेन।

कप्तान मार्टिन ओडेगार्डको प्रभावशाली प्रदर्शन पनि टोलीलाई हारबाट जोगाउन पर्याप्त भएन।

यस जितसँगै इङ्गल्याण्डले अब सेमिफाइनलमा अर्जेन्टिना र स्विजरल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

बेलिङ्घमको उत्कृष्ट लयले उपाधि दाबेदार इङ्गल्याण्डको आत्मविश्वास थप बलियो बनेको छ।

Untitled
Untitled
Untitled