काठमाण्डौ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को आगामी नेतृत्व चयन प्रक्रियालाई लक्षित गर्दै बलराम खतिवडाको नेतृत्वमा प्यानल सार्वजनिक गरिएको छ।
वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था सम्बन्धी विधान संशोधन प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेका खतिवडाको समूहले बुधबार एभरेष्ट होटलमा आयोजित कार्यक्रममा उम्मेदवारी घोषणा गरेको हो।
उक्त प्यानललाई ऊर्जा क्षेत्रभित्र अनुभव र नयाँ पुस्ताको समिश्रणका रूपमा प्रस्तुत गरिएको छ।
उपाध्यक्ष पदका लागि भरत नेपाल, भरतबहादुर खत्री, कुमार खरेल, दीपक पौडेल तथा महिला तर्फ सिर्जना खड्काले उम्मेदवारी दिएका छन्।
महासचिव पदका लागि प्रकाश दुलालले उम्मेदवारी अघि सारेका छन् भने सचिव पदमा कृष्ण घिमिरे, तारा सुब्बा, वीरेन्द्र मल्ल तथा महिला तर्फ संगीत धमलाको नाम समावेश गरिएको छ।
त्यसैगरी कोषाध्यक्ष पदमा मिथुन पौडेलले उम्मेदवारी दिएका छन्।
सदस्य पदमा सोमनाथ कँडेल, डा. भूषण गुरागाईं, सन्तोषराज नेपाल, मिलन खड्का, जगदीश शिवाकोटी, नारायण कँडेल, सकुन्ड ओझा, ज्योति गैरे, इन्दिरा पन्त र प्रदीप ओली रहेका छन्।
इप्पानको आगामी निर्वाचनलाई निजी ऊर्जा क्षेत्रको नीति निर्माण, लगानी विस्तार र संस्थागत सुधारका दृष्टिले महत्वपूर्ण मानिएको छ।
ऊर्जा उत्पादनमा निजी क्षेत्रको भूमिका बढ्दै गएको वर्तमान सन्दर्भमा यो निर्वाचनलाई उद्योगभित्रको नेतृत्व सन्तुलन र भविष्यको रणनीतिक दिशासँग जोडेर हेरिएको छ।
































