एजेन्सी, दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिजमा पाहुना टोली इंग्ल्याण्ड ‘क्लिन स्विप’ बाट जोगिएको छ ।
गएराति सम्पन्न तेस्रो खेलमा ५९ रनले विजयी भएसँगै इंग्ल्याण्ड ‘क्लिन स्विप’ बाट जोगिएको हो ।
ऊ पहिलो र दोस्रो खेलमा क्रमशः २७ रन र पाँच विकेटले पराजित भएको थियो । घरेलु टोली दक्षिण अफ्रिकाले सिरिज ‘क्लिन स्विप’ गर्ने मौका गुमायो ।
तेस्रो खेलमा इंग्ल्याण्डले दिएको ३ सय ४७ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४३।१ ओभरमा सबै विकेट गुमाएर २ सय ८७ रन मात्र बनाउन सक्यो ।
उसका लागि हेनरिक क्लासेनले ६२ बलमा सात चौका र दुई छक्कासहित ८० रन बनाए पनि टिमलाई जित दिलाउन भने सकेनन् ।
त्यस्तै, रिज हेन्ड्रिक्सले ५२, एडन मार्कमले ३९, कप्तान तेम्बा बावुमाले ३५, वेन पार्नेलले ३४, डेविड मिलरले १३ र मार्को जेन्सनले १२ रन जोडे ।
इंग्ल्याण्डका लागि तीव्र गतिका बलर जोफ्रा आर्चरले करियरकै उत्कृष्ट बलिङ गरे ।
९.१ ओभर बलिङ गरेका उनले एक मेडनसहित ४० रन दिएर ६ विकेट लिए । त्यस्तै, आदिल राशिदले दुई र क्रिस वोक्सले एक विकेट हात पारे ।
त्यसअघि किम्बरलेस्थित डायमन्ड ओवलमा टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३ सय ४६ रन बनायो ।
उसका लागि जोस बटलर र डेविड मलानले शतकीय पारी खेले ।
१२७ बलको सामना गरेका बटलरले सात छक्का र ६ चौकाको मद्दतमा १३० रन बनाए । एकदिवसीयमा उनको यो ११ औं शतक हो ।
त्यस्तै, मलानले ११४ बलमा ६ छक्का र सात चौकाको सहयोगमा ११४ रनको पारी खेले । एकदिवसीयमा उनको यो तेस्रो शतक हो ।
मोइन अलीले २३ बलमा चार छक्का र दुई चौकासहित ४१ रनको आक्रामक पारी खेले ।
साम करनले ११ र आदिल राशिदले अविजित ११ रन जोड्दा बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् ।
दक्षिण अफ्रिकाका लागि लुंगी एनगिडीले चार, मार्को जेन्सनले दुई र सिसान्डा मगलाले एक विकेट लिए ।