२०८३ असार १९ शुक्रवार | Friday, Jul 03 2026

हारको मुखबाट फर्कियो इंग्ल्यान्ड, कप्तान केन बने नायक

Untitled
Untitled
Untitled

एजेन्सी, कप्तान ह्यारी केनको उत्कृष्ट पुनरागमन प्रेरित प्रदर्शनमा इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।

एटलान्टामा बुधबार राति सम्पन्न रोमाञ्चक राउन्ड अफ ३२ को खेलमा डीआर कंगोलाई २–१ ले पराजित गर्दै इंग्ल्यान्डले नकआउट चरणको यात्रा सुरक्षित गरेको हो।

खेल सकिन १५ मिनेट मात्र बाँकी रहँदासम्म इंग्ल्यान्ड प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको थियो।

शुरुवामै डीआर कंगोका ब्रायन सिपेङ्गाले गरेको गोलका कारण इंग्लिस टोली लामो समय दबाबमा रह्यो।

प्रशिक्षक थोमस टुचेलको टोलीले लगातार आक्रमण गरे पनि कंगोका गोलरक्षक लियोनाल म्पासीले उत्कृष्ट बचाउ गर्दै अग्रता जोगाइरहेका थिए।

पहिलो हाफको इन्जुरी समयमा डीआर कंगोले अग्रता दोब्बर बनाउने सुनौलो अवसर पनि पाएको थियो।

योआने विस्साले गोलरक्षकलाई बिट गरिसकेपछि गरेको प्रहार गोलपोस्टमा लागेर फर्किएपछि इंग्ल्यान्ड ठूलो संकटबाट जोगिएको थियो।

दोस्रो हाफमा लगातार दबाब बढाएको इंग्ल्यान्डका लागि कप्तान ह्यारी केन निर्णायक बने।

खेलको ७५औँ मिनेटमा वैकल्पिक खेलाडी एन्थोनी गोर्डनको सटिक क्रसलाई केनले शक्तिशाली हेडमार्फत गोलमा परिणत गर्दै खेल १–१ को बराबरीमा ल्याए।

बराबरी गोलपछि थप उत्साहित बनेको इंग्ल्यान्डले खेलको ८६औँ मिनेटमा निर्णायक प्रहार गर्‍यो।

पेनाल्टी क्षेत्रको किनारमा बल नियन्त्रण गरेका केनले उत्कृष्ट टर्न गर्दै केही कदम अघि बढेपछि गरेको शक्तिशाली प्रहार सिधै जालीमा पुगेको थियो।

कंगोका गोलरक्षक म्पासी त्यस प्रहार रोक्न पूर्णतः असफल भए।

केनको यो जारी विश्वकपको पाँचौँ गोल हो। उनको प्रेरणादायी प्रदर्शनकै बलमा इंग्ल्यान्ड सम्भावित अप्रत्याशित हारबाट जोगिँदै अन्तिम १६ मा स्थान बनाउन सफल भयो।

खेलपछि हजारौँ इंग्लिस समर्थकले टोलीको पुनरागमन जितको उत्सव मनाएका थिए। डीआर कंगोले खेलभर उत्कृष्ट प्रतिरोध गरे पनि अन्तिम १५ मिनेटको दबाब थेग्न सकेन।

विशेषगरी गोलरक्षक म्पासीले गरेका महत्वपूर्ण बचाउका बाबजुद कप्तान केनको व्यक्तिगत उत्कृष्टतासामु कंगोको चुनौती टिक्न सकेन।

यस जितसँगै इंग्ल्यान्डले अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। अब क्वार्टरफाइनल प्रवेशका लागि इंग्लिस टोलीले सह–आयोजक मेक्सिकोसँग मेक्सिको सिटीमा प्रतिस्पर्धा गर्नेछ।

Untitled
Untitled
Untitled