२०८३ असार १८ बिहीवार | Thursday, Jul 02 2026

सहमति नभए छुट्टै महाधिवेशनको संकेत, कांग्रेस इतरको सम्पर्क कार्यालय सञ्चालनमा

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली कांग्रेसको संस्थापन इतर समूहले आगामी १५औँ महाधिवेशनको तयारीलाई तीव्र बनाउँदै काठमाडौंको महाराजगञ्जस्थित चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेको छ।

पार्टीभित्र संगठनात्मक गतिविधि सञ्चालन, रणनीतिक बैठक तथा महाधिवेशन केन्द्रित छलफललाई व्यवस्थित बनाउन कार्यालय सञ्चालनमा ल्याउन लागिएको नेताहरूले जनाएका छन्।

सम्पर्क कार्यालय नेपाली कांग्रेस रामेछापका निलम्बित सभापति कान्छाराम (पूर्णबहादुर) तामाङको पहलमा स्थापना गरिएको हो।

शुरुमा नयाँ बानेश्वरमा कार्यालय खोल्ने तयारी गरिए पनि अन्ततः चुनदेवीस्थित दुईतले भवनलाई उपयुक्त ठहर गर्दै त्यहीँबाट गतिविधि सञ्चालन गर्ने निर्णय गरिएको बताइएको छ।

भवनको पहुँच, संरचना र उपलब्ध सुविधालाई आधार बनाएर स्थान चयन गरिएको नेताहरूको भनाइ छ।

करिब साढे दुई रोपनी क्षेत्रफलमा फैलिएको उक्त भवनमा १२ वटा कोठा, दुईवटा ठूला हल तथा १५ देखि २० वटा सवारीसाधन पार्किङ गर्न मिल्ने सुविधा रहेको छ।

भवनको मासिक भाडा करिब साढे तीन लाख रुपैयाँ रहेको जनाइएको छ।

हाल कार्यालयमा रङरोगन, सरसफाइ र आवश्यक मर्मतको काम अन्तिम चरणमा पुगेको छ भने छिट्टै औपचारिक उद्घाटन गरी नियमित सञ्चालनमा ल्याइने तयारी गरिएको छ।

तामाङले यो कुनै समानान्तर पार्टी कार्यालय नभई महाधिवेशनको तयारीका लागि बनाइएको सम्पर्क केन्द्र भएको स्पष्ट पारे।

उनका अनुसार महाधिवेशनसँग सम्बन्धित बैठक, छलफल र संगठन विस्तारका गतिविधिलाई व्यवस्थित गर्न यस्तो संरचना आवश्यक भएकाले सम्पर्क कार्यालय स्थापना गरिएको हो।

गत साता इतर समूहका शीर्ष नेताहरूको बैठकले कार्यालय स्थापना गर्ने निर्णय गरेको थियो।

बैठकमा प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, एनपी साउद, रमेश लेखकलगायत नेताहरू सहभागी भएका थिए।

कांग्रेस नेता मीन विश्वकर्माले नियमित महाधिवेशनलाई लक्षित गरेर सम्पर्क कार्यालय सञ्चालनमा ल्याइएको जानकारी दिँदै संस्थापन पक्षसँग सहमति भए संयुक्त रूपमा महाधिवेशन गर्ने र सहमति हुन नसके अन्य विकल्पमा पनि छलफल भइरहेको बताए।

उनले कार्यालय सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत पार्टीका पूर्वपदाधिकारी, पूर्वकेन्द्रीय सदस्य तथा अन्य नेताहरूको स्वेच्छिक सहयोगबाट जुटाइएको जानकारी दिए।

सबै नेताहरूले आफ्नो क्षमता अनुसार आर्थिक सहयोग गरेको उनको भनाइ छ।

सम्पर्क कार्यालयको सुरक्षा व्यवस्थासमेत मिलाइएको छ। केही दिनदेखि सुरक्षा गार्ड परिचालन गरिएको छ भने भवनको भित्री तथा बाहिरी संरचना व्यवस्थित बनाउने काम तीव्र गतिमा अघि बढाइएको छ।

निर्माणमा संलग्न प्राविधिक टोलीले केही दिनभित्र सम्पूर्ण काम सम्पन्न हुने जनाएको छ।

इतर समूहले सातै प्रदेशमा प्रदेशस्तरीय भेला सम्पन्न गरिसकेको छ। अब काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी भइरहेको छ।

उक्त भेलाबाट १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गर्ने तथा आगामी राजनीतिक रणनीति तय गर्ने तयारी गरिएको नेताहरूले बताएका छन्।

इतर समूहका नेता विमलेन्द्र निधिले संस्थापन पक्षसँग सहमतिका लागि संवाद जारी रहेको बताए।

तर, सहमति नजुटे पार्टीको १५औँ महाधिवेशनको छुट्टै तयारी अघि बढाउने विकल्प खुला रहेको उनको भनाइ छ।

उपसभापति पूर्णबहादुर खड्काले पनि आवश्यक परे हाल कायम रहेका करिब ९ लाख १३ हजार क्रियाशील सदस्यकै आधारमा महाधिवेशन सम्पन्न गर्न सकिने धारणा निकट नेताहरूसँग राख्दै आएका छन्।

यसबीच नेता शशांक कोइरालाले पनि इतर समूहसँगको संवादलाई सक्रिय बनाएका छन्।

यद्यपि उनले आफू सदैव एकीकृत नेपाली कांग्रेसकै पक्षमा रहेको र पार्टीको एकताका लागि आवश्यक जिम्मेवारी र त्याग गर्न तयार रहेको सार्वजनिक रूपमा दोहोर्याउँदै आएका छन्।

उता संस्थापन पक्षले पनि वार्तालाई निरन्तरता दिएको छ।

महामन्त्री गुरुराज घिमिरेले शेखर कोइराला, पूर्णबहादुर खड्का, कृष्णप्रसाद सिटौलालगायत नेताहरूसँग लगातार छलफल गर्दै साझा सहमतिमार्फत महाधिवेशन सम्पन्न गर्ने वातावरण निर्माण गर्ने प्रयास गरिरहेका छन्।

उनका अनुसार पार्टीभित्रको विवाद समाधान गरी सबै पक्षलाई समेट्ने गरी महाधिवेशन सम्पन्न गर्ने विषयमा सकारात्मक संवाद भइरहेको छ।

यद्यपि अहिलेसम्म कुनै ठोस सहमति हुन सकेको छैन। त्यसैले कांग्रेसभित्र संवाद र सहमतिको प्रयाससँगै महाधिवेशनको तयारी पनि समानान्तर रूपमा अघि बढिरहेको देखिएको छ।

Untitled
Untitled
Untitled