काठमाण्डू, नेपाल आयल निगमले आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँले घटाएसँगै आन्तरिक वायुसेवा कम्पनीहरूले पनि हवाई भाडा घटाएका छन्।
निगमले बुधबारदेखि लागू हुने गरी इन्धनको नयाँ मूल्य निर्धारण गरेपछि सोही दिनदेखि लागू हुने गरी यात्रु भाडामा समायोजन गरिएको हो।
हवाई भाडामा गरिएको समायोजनअनुसार विभिन्न गन्तव्यमा इन्धन शुल्क (फ्यूल सरचार्ज) घटाइएकाले यात्रुले अब अघिल्लोभन्दा कम भाडा तिर्नुपर्ने भएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको नयाँ दरअनुसार सुगमदेखि दुर्गम सबै गन्तव्यका उडानमा इन्धन शुल्क घटाइएको वायुसेवा कम्पनीहरूले जनाएका छन्।
नयाँ व्यवस्थाअनुसार काठमाडौंबाट सबैभन्दा टाढाको गन्तव्य धनगढीको हवाई भाडा १ हजार ७६५ रुपैयाँले घटेको छ।
त्यस्तै सबैभन्दा नजिकको गन्तव्य सिमराको भाडामा ३६० रुपैयाँले कमी आएको छ।
अन्य आन्तरिक गन्तव्यको भाडा पनि दूरी र इन्धन शुल्कका आधारमा समायोजन गरिएको छ।
वायुसेवा कम्पनीहरूले यात्रुबाट असुल गर्दै आएको इन्धन शुल्कलाई हवाई भाडासँगै समायोजन गर्ने व्यवस्था रहेकाले इन्धनको मूल्य घटेसँगै त्यसको प्रत्यक्ष लाभ यात्रुले पाउने भएका छन्।
निगमले आन्तरिक हवाई इन्धनको मूल्यमा गरेको कटौतीपछि हवाई यात्रा केही सस्तो बनेको छ।



































