काठमाण्डू, देशभर मनसुनी प्रणालीको प्रभाव कायम रहे पनि मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थान आसपास रहेकाले वर्षाको तीव्रता केही घटेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी रेखा नेपाल नजिक नरहेकाले अघिल्ला दिनको तुलनामा वर्षा कम हुने देखिएको भएपनि विभिन्न क्षेत्रमा मेघगर्जन, चट्याङ र वर्षाको सम्भावना भने कायम छ।
महाशाखाले शुक्रबार बिहान सार्वजनिक गरेको मौसम बुलेटिनअनुसार दिउँसो देशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुन सक्ने अनुमान गरिएको छ।
बाढीको सम्भावनारु
वर्षा घटेसँगै बाढीको सम्भावना पनि कम भएको छ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँसहित ११ जिल्ला र त्यस आसपासका खोला(नदीमा आकस्मिक बाढी आउने सम्भावना छ।
बाढी महाशाखाले भनेको छ, ‘आज रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, सिन्धुपाल्चोक, बैतडी डडेल्धुरा, कञ्चनपुर र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेकाले उक्त जिल्लाहरूका नदी तटीय क्षेत्रहरूमा सतर्कता अपनाउनुहुन अनुरोध छ।’
यस्तै, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थान तथा कोशी, मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एक–दुई स्थानमा पनि मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन्।
राति बागमती र गण्डकीमा वर्षा बढ्ने संकेत
महाशाखाका अनुसार शुक्रबार राति बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको छ।
साथै कोशी, मधेश र लुम्बिनी प्रदेशका केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि मेघगर्जनसहित वर्षा हुन सक्छ।
विशेषगरी बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।
काठमाडौंमा दिउँसोभन्दा राति वर्षाको सम्भावना बढी
काठमाडौं उपत्यकामा बिहानैदेखि घाम लागेको भए पनि साँझपछि मौसम फेरिने संकेत देखिएको छ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार दिउँसो हल्का वर्षाको सम्भावना कम रहे पनि राति भने हल्कादेखि मध्यम वर्षा हुने सम्भावना तुलनात्मक रूपमा बढी छ।
उनका अनुसार दिनभर उपत्यकामा घाम र बादल दुवै रहने भएपनि घामको प्रभाव बढी रहनेछ। साँझपछि भने बादल बाक्लिँदै वर्षा हुन सक्ने अनुमान गरिएको छ।
वर्षाको मापन कसरी गरिन्छ ?
मौसमविद्का अनुसार २४ घण्टाको अवधिमा परेको पानीको मात्राका आधारमा वर्षालाई विभिन्न वर्गमा विभाजन गरिन्छ।
१० मिलिमिटरभन्दा कम वर्षा भए हल्का वर्षा
१० देखि ५० मिलिमिटर वर्षा भए मध्यम वर्षा
५० देखि १०० मिलिमिटर वर्षा भए भारी वर्षा
१०० देखि २०० मिलिमिटर वर्षा भए धेरै भारी वर्षा
२०० मिलिमिटरभन्दा बढी वर्षा भए अति भारी वर्षा मानिन्छ।
मौसम बुलेटिनका शब्दको अर्थ
महाशाखाले प्रयोग गर्ने एक/दुई स्थान, थोरै स्थान, केही स्थान र धेरै स्थानू भन्ने शब्दले वर्षा हुने सम्भावित क्षेत्रको प्रतिशत जनाउँछन्।
एक–दुई स्थान : १० प्रतिशतभन्दा कम भू-भाग
थोरै स्थान: १०–३० प्रतिशत भू-भाग
केही स्थान : ३०–५० प्रतिशत भू-भाग
धेरै स्थान : ५०–८० प्रतिशत भू-भाग
अधिकांश स्थान : ८० प्रतिशतभन्दा बढी भू-भाग
मौसमविद्ले वर्षाको तीव्रता केही कम देखिए पनि स्थानीय रूपमा मेघगर्जन, चट्याङ र मध्यमदेखि भारी वर्षा हुन सक्ने भएकाले विशेषगरी पहाडी तथा नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा पछ्याउन आग्रह गरेका छन्।




































