काठमाण्डू, देशभर मनसुनी वायु सक्रिय रहँदा आज पनि अधिकांश क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिम नेपालतर्फ औसत स्थानभन्दा केही उत्तरतर्फ र पूर्वी क्षेत्रमा औसत स्थानकै आसपास रहेकाले वर्षाको गतिविधि निरन्तर सक्रिय बनेको हो।
हाल देशभर सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ। महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा तथा मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज दिउँसो पनि मौसममा सुधार आउने सम्भावना कम रहेको मौसमविद्हरूले बताएका छन्।
हिमाली र पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन, चट्याङ र वर्षा हुने अनुमान गरिएको छ भने कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्र तथा मधेश र सुदूरपश्चिमका केही स्थानमा समेत वर्षाको गतिविधि जारी रहनेछ।
महाशाखाले विशेषगरी कोशी र बागमतीका हिमाली भू-भाग, साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिएको छ। लुम्बिनी प्रदेशको तराईका केही क्षेत्रमा पनि भारी वर्षाको सम्भावना रहेको छ।
रातिको समयमा पनि मनसुनको प्रभाव यथावत् रहने अनुमान गरिएको छ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र, साथै कोशी, बागमती र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
निरन्तर वर्षाका कारण नदी–खोलामा पानीको सतह बढ्ने, आकस्मिक बाढी, पहिरो, डुबान, गेग्रान बहाव तथा भूक्षयको जोखिम उच्च रहने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।
साथै पहाडी सडकमार्गमा यात्रा गर्दा मौसम र सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा विभागबाट जारी हुने नियमित मौसम बुलेटिनलाई ध्यानपूर्वक पछ्याउन पनि अनुरोध गरिएको छ।




































