काठमाण्डू, संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ।
आजको बैठकमा संवैधानिक आयोगका वार्षिक प्रतिवेदन पेस गर्ने, कानून संशोधनसम्बन्धी विधेयकमाथि छलफल अघि बढाउने तथा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) का महत्वपूर्ण महासन्धी अनुमोदनका प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
संसद् सचिवालयका अनुसार कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रधानमन्त्रीको तर्फबाट राष्ट्रिय मानव अधिकार आयोगको १८औँ वार्षिक प्रतिवेदन, राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन र राष्ट्रिय समावेशी आयोगको सातौँ वार्षिक प्रतिवेदन सदनमा पेस गर्नेछिन्।
यस्तै, अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्, जसबाट आर्थिक तथा प्रशासनिक कानूनमा आवश्यक संशोधनको प्रक्रिया अघि बढ्नेछ।
बैठकमा युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले अन्तर्राष्ट्रिय श्रम संगठनअन्तर्गत बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ अनुमोदनका लागि प्रस्ताव पेस गर्नेछन्।
साथै, श्रम निरीक्षणसम्बन्धी महासन्धी, १९४७ (नं. ८१) अनुमोदनसम्बन्धी प्रस्ताव पनि सदनमा प्रस्तुत हुनेछ।
आजको बैठकले श्रम अधिकार, कानूनी सुधार र संवैधानिक निकायको जवाफदेहितासँग सम्बन्धित विषयमा महत्वपूर्ण छलफल र निर्णयको आधार तयार गर्ने अपेक्षा गरिएको छ।



































