२०८३ असार २९ सोमवार | Monday, Jul 13 2026

दुई दिन अत्यधिक वर्षाको चेतावनी, चार प्रदेशमा बाढी–पहिरोको उच्च जोखिम, सतर्क रहन आग्रह

Untitled
Untitled
Untitled

काठमाण्डू, जल तथा मौसम विज्ञान विभागले मनसुन थप सक्रिय हुँदै गएको भन्दै आगामी दुई दिन देशका विभिन्न क्षेत्रमा अत्यधिक वर्षाको सम्भावना रहेको जनाएको छ।

विभागले शनिबार साँझ विशेष मौसम सूचना जारी गर्दै आइतबार र सोमबार विशेष सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो।

विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा तथा मधेशसहित कोशी र बागमती प्रदेशका तराईका एक/दुई स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना छ।

यस्तै, कोशी, बागमती र गण्डकीका पहाडी भू-भागका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।

सक्रिय मनसुनी प्रणालीका कारण लगातारको वर्षाले नदी तथा खोलामा पानीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने विभागले जनाएको छ।

विशेषगरी कोशी, बागमती, मधेश र गण्डकी प्रदेशमा बाढी, पहिरो, डुबान तथा भूक्षयको जोखिम उच्च रहने भएकाले जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन अनुरोध गरिएको छ।

विभागले अत्यधिक वर्षाका कारण जनजीवन प्रभावित हुन सक्ने जनाएको छ।

कृषि उत्पादन, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत प्रत्यक्ष असर पर्ने सम्भावना रहेकाले सम्बन्धित निकाय तथा नागरिकलाई पूर्वतयारी गर्न आग्रह गरिएको छ।

विशेष गरी नदी किनार, पहिरोको जोखिम भएका बस्ती र डुबान हुने क्षेत्रमा अनावश्यक आवतजावत नगर्न तथा मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पालना गर्न विभागले अनुरोध गरेको छ।

मनसुनको सक्रियता अझै केही दिन कायम रहने अनुमान गरिएकाले आवश्यक सतर्कता अपनाउन पनि विभागले सबैलाई सचेत गराएको छ।

Untitled
Untitled
Untitled