२०८३ असार २७ शनिवार | Saturday, Jul 11 2026

एमबाप्पे चम्किए, मोरक्कोलाई हराउँदै फ्रान्स लगातार तेस्रो विश्वकप सेमिफाइनलमा

Untitled
Untitled
Untitled

एजेन्सी, फिफा विश्वकप २०२६ अन्तर्गत क्वार्टरफाइनलमा फ्रान्सले उत्कृष्ट प्रदर्शन गर्दै मोरक्कोलाई २–० ले पराजित गरेको छ।

दोस्रो हाफमा किलियन एमबाप्पे र ओस्मान डेम्बेलेले गरेको गोलको मद्दतमा फ्रान्सले सहज जीत निकाल्दै लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो।

अमेरिकाको बोस्टन स्टेडियममा शुक्रबार बिहान सम्पन्न खेलको पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरीमा टुंग्याएका थिए।

मोरक्कोले शुरुवाती समयदेखि नै अनुशासित रक्षात्मक खेल प्रस्तुत गरेकाले फ्रान्सले गोल गर्ने अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न सकेन।

फ्रान्सका कप्तान किलियन एमबाप्पेले पहिलो हाफमै पेनाल्टीमार्फत टोलीलाई अग्रता दिलाउने अवसर पाएका थिए।

तर, उनले त्यसलाई गोलमा परिणत गर्न नसक्दा पहिलो ४५ मिनेट कुनै गोलबिना समाप्त भएको थियो।

दोस्रो हाफ सुरु भएपछि भने फ्रान्सले आफ्नो खेलको लय समात्यो। खेलको ६०औँ मिनेटमा युवा खेलाडी डेजिरे डुवेको उत्कृष्ट पासलाई सदुपयोग गर्दै एमबाप्पेले आकर्षक गोल गरे।

उक्त गोलसँगै उनले विश्वकप इतिहासमा आफ्नो व्यक्तिगत गोल संख्या २० पुर्‍याएका छन्।

एमबाप्पेको गोलपछि आत्मविश्वासले भरिएको फ्रान्सले लगातार आक्रमणलाई तीव्र बनायो।

त्यसको केवल छ मिनेटपछि अर्थात् ६६औँ मिनेटमा एमबाप्पेकै पासमा ओस्मान डेम्बेलेले शानदार फिनिसिङ गर्दै टोलीको अग्रता दोब्बर बनाए।

दुई गोलले पछि परेपछि मोरक्कोले केही खेलाडी परिवर्तन गर्दै खेलमा फर्कने प्रयास गरेको थियो।

तर, फ्रान्सको बलियो रक्षापङ्क्ति र उत्कृष्ट मिडफिल्ड नियन्त्रणका कारण मोरक्कोले स्पष्ट गोल अवसर सिर्जना गर्न सकेन।

खेलको अन्त्यतिर अच्राफ हाकिमीले दिएको कर्नरमा निल एल ऐनाउईले गरेको हेडर साइड नेटिङमा लाग्नु नै मोरक्कोको सबैभन्दा राम्रो अवसर बन्यो।

त्यसबाहेक मोरक्कोका आक्रमणहरू फ्रान्सेली रक्षापङ्क्तिले सहज रूपमा विफल बनाइदियो।

पूरै खेलभर फ्रान्सले बल नियन्त्रण, पासिङ र आक्रमणमा स्पष्ट दबदबा कायम राख्यो। प्रशिक्षकको रणनीतिअनुसार टोलीले मोरक्कोलाई खुला रूपमा खेल्ने अवसर नै नदिँदा अफ्रिकी टोली लगातार दबाबमा रह्यो।

यो जितसँगै फ्रान्स लगातार तेस्रो विश्वकपको सेमिफाइनलमा पुगेको छ।

उपाधिको दाबेदारका रूपमा रहेको फ्रान्स अब फाइनल पुग्न केवल एक जीत टाढा रहेको छ।

उता, ऐतिहासिक यात्रा दोहोर्याउने लक्ष्यसहित मैदान उत्रिएको मोरक्को भने क्वार्टरफाइनलमै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

Untitled
Untitled
Untitled