२०८३ असार २७ शनिवार | Saturday, Jul 11 2026

मनसुनलाई लक्षित गर्दै बीपी राजमार्गमा विशेष तयारी : अवरोध भए ३० मिनेटमै सडक खुलाउने योजना

Untitled
Untitled
Untitled

धुलिखेल, मनसुनका कारण वर्षेनी बाढी र पहिरोको चपेटामा पर्ने बीपी राजमार्ग यस वर्ष भने न्यूनतम अवरोधमा सञ्चालन गर्ने लक्ष्यसहित सडक विभागले विशेष कार्ययोजना लागू गरेको छ।

काभ्रेपलाञ्चोक–सिन्धुली खण्डको पुनर्निर्माण अन्तिम चरणमा पुगेपछि केही दिनभित्रै पुनर्निर्मित सडकबाट पूर्ण रूपमा सवारी सञ्चालन गरिने र आकस्मिक रूपमा सडक बन्द भए पनि ३० मिनेटभित्र यातायात पुनः सञ्चालन गर्ने तयारी गरिएको छ।

डिभिजन सडक कार्यालय भक्तपुरले मनसुनको चुनौतीलाई ध्यानमा राख्दै राजमार्गका जोखिमयुक्त क्षेत्रमा आवश्यक उपकरण, हेभी मेसिन तथा प्राविधिक जनशक्ति पूर्वतयारी अवस्थामा राखिएको जनाएको छ।

कार्यालयका अनुसार सडक अवरुद्ध हुनासाथ तत्काल उद्धार तथा मर्मत टोली परिचालन हुने व्यवस्था मिलाइएको छ।

कार्यालय प्रमुख तथा सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार यसपटकको प्राथमिकता सडक बन्द हुनै नदिनु हो।

यदि पहिरो, बाढी वा अन्य कारणले यातायात प्रभावित भएपनि आधा घण्टाभित्र सडक खुलाउने गरी सम्पूर्ण तयारी पूरा गरिएको उनले बताए।

उनका अनुसार हाल पुनर्निर्माण गरिएका अधिकांश सडकखण्डमा सवारी सञ्चालन भइसकेको छ। अब केही दिनभित्र बाँकी निर्माण सम्पन्न भएपछि सम्पूर्ण खण्ड पुनर्निर्मित ट्र्याकमार्फत सञ्चालनमा आउनेछ।

बिपी राजमार्ग काठमाडौंलाई पूर्वी नेपाल तथा मधेशसँग सबैभन्दा छोटो दूरीमा जोड्ने प्रमुख राजमार्ग हो।

यही कारण वर्षायाममा यो सडक अवरुद्ध हुँदा यात्रु, मालवाहक सवारी तथा व्यापारिक गतिविधिमा ठूलो असर पर्ने गरेको छ।

विगतमा रोशी खोलामाथि निर्माण गरिएका अस्थायी डाइभर्सनहरू वर्षा बढ्नेबित्तिकै बग्ने गरेका कारण सडक पटक–पटक अवरुद्ध हुने समस्या थियो।

यसपटक भने ती अस्थायी संरचनाको सट्टा स्थायी ट्र्याक निर्माण गरिएकाले सडकको दिगोपन बढ्ने अपेक्षा गरिएको छ।

सडक कार्यालयका अनुसार चौकीडाँडा, कटुञ्जेबेँसी, लाष्कोट, चारसयबेँसी, नार्के, चिउरीबास, बोक्सीकुना हुँदै पिप्लेसम्मका अधिकांश भागमा अहिले नै सहज रूपमा सवारी सञ्चालन भइरहेको छ।

केही स्थानमा ग्राभेल बिछ्याउने तथा सडकलाई थप मजबुत बनाउने काम अन्तिम चरणमा पुगेको छ।

यद्यपि चौकीडाँडा, चारसयबेँसी, घुमाउनेबेँसी, कालढुङ्गा, चिउरीबास, बोक्सीकुना तथा पिप्ले–बर्खेखोला क्षेत्रलाई उच्च जोखिमयुक्त क्षेत्रको सूचीमा राखिएको छ।

ती स्थानमा चौबीसै घण्टा निगरानी राखिने र आवश्यक परे तत्काल सडक खुलाउने संयन्त्र सक्रिय रहने सडक कार्यालयले जनाएको छ।

गत वर्ष असोजमा आएको भीषण बाढी र पहिरोले भकुण्डेबेँसीदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा व्यापक क्षति पुर्‍याएको थियो।

त्यसबेला रोशी खोलाका अस्थायी डाइभर्सन बग्दा राजमार्ग लामो समयसम्म अवरुद्ध बनेको थियो।

हाल बर्खेखोलादेखि पिप्लेसम्मको ३.२ किलोमिटर सडक पुनर्निर्माण जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा भइरहेको छ।

उक्त क्षेत्रमा माटो भराइ, ठूला बोल्डर जडान तथा स्थायी सडक संरचना निर्माणको काम तीव्र गतिमा अघि बढाइएको छ।

यस परियोजनाका लागि जाइकाले करिब दुई अर्ब ६३ करोड रुपैयाँ बराबरको अनुदान उपलब्ध गराउने सहमति भएको छ।

बाँकी सडक पुनर्निर्माण काभ्रेपलाञ्चोकतर्फ तीन र सिन्धुलीतर्फ एक गरी चार निर्माण प्याकेजमार्फत सञ्चालन भइरहेको छ।पुनर्निर्माण सम्पन्न भएपछि सम्पूर्ण सडक दुई लेनको मापदण्डअनुसार विस्तार गरिनेछ।

हाल प्रयोगमा रहेका पुलसँगै नयाँ पुल निर्माण गरिनेछ भने पाँचवटा पुललाई आधुनिक दुई लेन संरचनामा रूपान्तरण गर्ने योजना पनि अघि बढाइएको छ।

१६० किलोमिटर लामो धुलिखेल–सिन्धुली–बर्दिबास सडकखण्ड समेटिएको बीपी राजमार्ग जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ देखि निर्माण शुरु गरिएको थियो।

पूर्वी तथा मध्य नेपाललाई राजधानीसँग जोड्ने जीवनरेखाका रूपमा परिचित यो राजमार्ग देशको आर्थिक गतिविधि, व्यापार तथा यात्रुवाहक यातायातका लागि अत्यन्त महत्वपूर्ण पूर्वाधार मानिन्छ।

सडक विभागले मनसुनको अवधिभर यात्रुहरूलाई मौसम र सडक अवस्थाको नियमित जानकारी लिएर मात्रै यात्रा गर्न, जोखिमयुक्त स्थानमा अनावश्यक रोकिएर नबस्न तथा ट्राफिक प्रहरी र स्थानीय प्रशासनले जारी गर्ने निर्देशन पालना गर्न आग्रह गरेको छ।

Untitled
Untitled
Untitled