२०८३ जेठ ३० शनिवार | Saturday, Jun 13 2026

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशभर बदली, वर्षा र चट्याङको सम्भावना

Untitled
Untitled
Untitled

काठमाण्डौ । पश्चिमी न्यूनचापीय प्रणाली (ट्रफ) र स्थानीय वायुको संयुक्त प्रभावका कारण देशका विभिन्न भागमा वर्षाको गतिविधि सक्रिय रहने भएको छ।

जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टासम्म देशका पहाडी तथा हिमाली क्षेत्रसहित केही तराई भू-भागमा पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ।

लुम्बिनीका केही स्थान तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदलीको अवस्था कायम छ।

आज दिउँसो कोशी, मधेश र बागमती प्रदेशका साथै देशका पहाडी तथा हिमाली भू-भागमा सामान्य बदली रहने अनुमान गरिएको छ।

कोशी र मधेश प्रदेशका केही स्थान तथा पहाडी क्षेत्रका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका केही क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको छ। रातिको समयमा पनि मौसम पूर्ण रूपमा नखुल्ने देखिएको छ।

कोशी प्रदेशसहित अधिकांश पहाडी तथा हिमाली भूभागमा बदली कायम रहनेछ भने मधेशसहित तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा मेघगर्जनसहित वर्षा हुन सक्ने तथा केही हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

मौसम प्रणाली सक्रिय रहेकाले वर्षा, चट्याङ र उच्च हिमाली क्षेत्रमा हिमपातका कारण दैनिक जनजीवन, कृषि गतिविधि, सडक यातायात तथा हवाई सेवामा आंशिक असर पर्न सक्ने चेतावनी दिइएको छ।

विभागले जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी अद्यावधिक जानकारी नियमित रूपमा पछ्याउन सर्वसाधारणलाई आग्रह गरेको छ।

Untitled
Untitled
Untitled