२०८३ असार २३ मंगलवार | Tuesday, Jul 07 2026

देशभर मनसुन सक्रिय: कोशी, बागमतीसहित चार प्रदेशमा भारी वर्षाको सम्भावना

Untitled
Untitled
Untitled

काठमाण्डौं । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा बदली, चट्याङसहित वर्षा तथा केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमी भूभागतर्फ सरदर स्थानकै आसपास रहेकाले वर्षाको प्रभाव अझै केही दिन कायम रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागमा सामान्यदेखि पूर्ण बदली रहेको छ।

मधेश प्रदेश तथा सुदूरपश्चिमका तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदली देखिएको छ भने केही स्थानमा हल्का वर्षा पनि भइरहेको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, मधेस प्रदेशका अधिकांश भू-भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने मौसमविद्हरूले बताएका छन्।

विशेषगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी जिल्लाका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यसका कारण पहाडी क्षेत्रमा पहिरो, गेग्रान बहाव, सडक अवरुद्ध हुने तथा नदी र खोलानालामा पानीको बहाव एक्कासि बढ्न सक्ने जोखिम रहेको महाशाखाले जनाएको छ।

यस्तै, मधेश प्रदेश तथा लुम्बिनी प्रदेशको तराईका केही क्षेत्रमा हावाहुरी चल्ने सम्भावना पनि रहेकाले कमजोर संरचना, कृषि बाली तथा विद्युतीय पूर्वाधारमा असर पर्न सक्ने भएकाले सतर्क रहन आग्रह गरिएको छ।

आज राति पनि मौसममा खासै सुधार नआउने पूर्वानुमान गरिएको छ।

देशभर अधिकांश स्थानमा बदली कायम रहनेछ भने हिमाली भू-भागका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

मधेश प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका धेरै स्थान, सुदूरपश्चिम प्रदेशको तराई तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भू-भागका केही स्थानमा पनि चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।

महाशाखाले कोशी प्रदेशका पहाडी तथा तराईका थोरै स्थान र मधेश तथा गण्डकी प्रदेशका एक/दुई स्थानमा रातिको समयमा समेत भारी वर्षा हुन सक्ने जनाएको छ।

लगातारको वर्षाका कारण साना तथा ठूला नदीमा जलसतह बढ्ने, बाढीको जोखिम रहने, ग्रामीण सडक तथा राजमार्गमा पहिरो खस्ने सम्भावना रहेकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।

मौसमविद्हरूले विशेषगरी नदी किनार, पहिरोको उच्च जोखिम भएका बस्ती तथा पहाडी सडक प्रयोग गर्ने यात्रुलाई सतर्क रहन आग्रह गरेका छन्।

आवश्यकबाहेक रातिको यात्रा नगर्न, मौसमको अद्यावधिक जानकारी नियमित रूपमा लिन तथा स्थानीय प्रशासन र सम्बन्धित निकायबाट जारी हुने सूचना तथा चेतावनीको पूर्ण पालना गर्न पनि अनुरोध गरिएको छ।

मनसुन अझै सक्रिय रहेकाले आगामी केही दिनसम्म देशका विभिन्न स्थानमा वर्षाको क्रम जारी रहने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Untitled
Untitled
Untitled