काठमाण्डौ । नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको तयारीले नयाँ मोड लिएको छ।
संस्थापन इतर पक्षले संगठनात्मक गतिविधिलाई थप व्यवस्थित बनाउने उद्देश्यसहित काठमाडौंको महाराजगञ्जस्थित चुनदेवीमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएको छ।
कार्यालय उद्घाटनसँगै इतर समूहले आफ्नो राजनीतिक रणनीति, संगठन विस्तार र महाधिवेशन केन्द्रित अभियानलाई औपचारिक रूपमा अघि बढाएको संकेत दिएको छ।
सम्पर्क कार्यालय उद्घाटनपछि १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको बैठक शुरु भएको छ।
बैठकमा पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्था, संगठन सुदृढीकरण, आगामी महाधिवेशनको तयारी, राष्ट्रिय राजनीतिक घटनाक्रम तथा इतर समूहको भावी रणनीतिबारे व्यापक छलफल भइरहेको जनाइएको छ।
इतर पक्षले चुनदेवीस्थित सम्पर्क कार्यालयलाई महाधिवेशनसम्म सञ्चालन हुने सम्पूर्ण गतिविधिको ुकमाण्ड सेन्टरु का रूपमा विकास गर्ने योजना बनाएको छ।
अबदेखि संगठन विस्तार, कार्यकर्ता समन्वय, राजनीतिक छलफल, प्रशिक्षण कार्यक्रम र महाधिवेशनसँग सम्बन्धित अधिकांश गतिविधि यही कार्यालयबाट सञ्चालन गरिने जनाइएको छ।
कार्यालय उद्घाटन समारोहमा निःवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टीभित्र लामो समयदेखि देखिएको आन्तरिक मतभेद, विशेष महाधिवेशनको बहस, नियमित महाधिवेशनको आवश्यकता र संगठनलाई एकताबद्ध बनाउने विषयमा धारणा राखेका थिए।
उनले कांग्रेसलाई बलियो बनाउन सबै पक्षबीच संवाद, सहमति र सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै आगामी महाधिवेशनलाई पार्टीको नयाँ दिशा तय गर्ने अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका थिए।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता मीनबहादुर विश्वकर्माले पार्टीभित्रको एकता पुनःस्थापित गर्न विभिन्न चरणमा पहल गरिए पनि पछिल्ला महिनाहरूमा त्यसले अपेक्षित परिणाम दिन नसकेको बताए।
उनका अनुसार नेतृत्व तहमा देखिएको असमझदारीले संगठनात्मक गतिविधिमा असर परेको छ भने कार्यकर्तामा पनि अन्योल बढाएको छ।
विश्वकर्माले कांग्रेस लोकतान्त्रिक आन्दोलनको नेतृत्वदायी शक्ति भएकाले पार्टीभित्रको विभाजन र अविश्वासले केवल कांग्रेसलाई मात्र नभई समग्र लोकतान्त्रिक राजनीतिक अभ्यासलाई समेत कमजोर बनाउने धारणा व्यक्त गरे।
उनले पार्टीको वर्तमान नेतृत्वले विवाद समाधान र संगठनलाई एकताबद्ध बनाउन प्रभावकारी पहल गर्न नसकेको आरोपसमेत लगाए।
उनले अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले अपेक्षाअनुसारको नतिजा हासिल गर्न नसक्नुमा नेतृत्वको रणनीतिक कमजोरी, आन्तरिक विवाद र संगठनात्मक असन्तुलन पनि जिम्मेवार रहेको दाबी गरे।
आगामी महाधिवेशनमार्फत पार्टीलाई नयाँ ऊर्जा, स्पष्ट राजनीतिक दिशा र बलियो संगठनात्मक संरचना दिनुपर्नेमा उनले जोड दिए।
बैठकले आगामी साउन ६ गते जननेता बीपी कोइराला को स्मृति दिवसलाई देशव्यापी रूपमा विशेष कार्यक्रमसहित मनाउने निर्णय गरेको छ।
बीपीको राजनीतिक दर्शन, लोकतान्त्रिक मूल्य–मान्यता र समाजवादी सोचलाई नयाँ पुस्तामाझ पुर्याउने उद्देश्यले यस वर्ष स्मृति दिवसलाई विशेष अभियानका रूपमा सञ्चालन गर्ने तयारी गरिएको छ।
यस्तै, मंगलबार पुनः बस्ने बैठकले स्मृति दिवसको विस्तृत कार्यक्रम, राष्ट्रिय भेलाको मिति, १५औँ महाधिवेशनको कार्ययोजना, संगठन विस्तार अभियान तथा सम्पर्क कार्यालयमार्फत सञ्चालन हुने राजनीतिक कार्यक्रमको विस्तृत खाका तय गर्ने जनाइएको छ।
राजनीतिक वृत्तमा इतर पक्षको यो सक्रियतालाई केवल सम्पर्क कार्यालय उद्घाटनका रूपमा मात्र नभई १५औँ महाधिवेशनअघि संगठनात्मक शक्ति प्रदर्शन, कार्यकर्ता परिचालन र नेतृत्वको वैकल्पिक राजनीतिक धारलाई व्यवस्थित गर्ने अभियानका रूपमा समेत हेरिएको छ।
आगामी दिनमा यस अभियानले कांग्रेसको आन्तरिक शक्ति सन्तुलनमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।



































