२०८१ माघ ४ शुक्रवार | Friday, Jan 17 2025

रास्वपामा सुरु भयो रविविरुद्ध केन्द्रीय सदस्यदेखि सांसदसम्मको असन्तुष्टि

Untitled
Untitled
Untitled

काठमाडौ, राष्ट्रिय स्वतन्त्र पार्टीमा केही दिन यता पार्टीका सभापति रवि लामिछानेविरुद्ध अभिव्यक्ति दिनेहरु बढ्न थालेका छन् ।

पार्टीमा उनीसँगको असन्तुष्टि बढ्दै जाँदा यस्तो अवस्था आउन थालेको हो ।

उनकै कार्यशैली र पार्टीले चुनावपछि थप अराजक राजनीति गर्न थालेको भन्दै यो पार्टीका चितवन सभापति धर्मेन्द्र सापकोटाले राजीनामा समेत दिएका छन् ।

पार्टीका महामन्त्री मुकुल ढकाललाई राजीनामा बुझाइसके पछि उनले चितवनमा मात्र नभएर पार्टीका अन्य जिल्ला समितिहरु पनि आफ्नो जस्तै अवस्थाबाट गुज्रिरहेको समेत बताएका छन् ।

गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनःप्राप्तिका लागि प्रक्रिया नपुर्याएको भन्दै उनको नागरिकता अवैध रहेको ठहर गरेको थियो ।

सर्वोच्च अदालतको यो फैसलासँगै लामिछानेले सांसद, उपप्रधान तथा गृहमन्त्री र पार्टी सभापति पद गुमाएका थिए ।

आइतबार लामिछानेले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नागरिकता लिए ।

त्यही दिन राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्यता लिएर उनी सभापति भए । उनको यो हतारोले उनलाई पदप्रति आशक्त भएको रुपमा पार्टीभित्र बुझिएको छ ।

‘उहाँले नागरिकता लिएपछि पार्टी सभापति बन्नकै लागि जुन हतारो देखाउनु भयो, त्यसले उहाँको मनाशय स्पष्ट भएको छ,’ यो पार्टीका एक केन्द्रीय सदस्यले भने, ‘अहिले पार्टीको संक्रमणकालीन अवस्थामा उहाँ नै सभापति बन्नुको विकल्प छैन् ।

तर, उहाँले यही कुरा पनि केन्द्रीय कमिटी बैठकमा राम्रोसँग छलफल गरेर अगाडि बढाउन सक्नुहुन्थ्यो । तर, उहाँले आफूलाई केन्द्रमा राखेर निर्णय गर्दै जानु भएको छ ।’

रास्वपामा पछिल्लो समय लामिछानेले फेरि गृहमन्त्री हुन चाहेपछि असन्तुष्टि चुलिएको छ ।

आइतबार रास्वपाको सभापतिमा फेरि चयन भएका लामिछानेले त्यही दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बालुवाटारमा भेटेर आफूलाई गृहमन्त्रीमा नियुक्त गर्न अनुरोध गरेका थिए ।

त्यसको भोलिपल्ट बालकोटमा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई पनि उनले यही अनुरोधसहित भेटेका थिए ।

मंगलबार त उनले बालुवाटारमा प्रधानमन्त्री दाहाललाई आफूलाई गृहमन्त्रीमा साँझसम्म नियुक्त नगरे पार्टी सरकारबाट बाहिरिने चेतावनीसमेत दिए ।

यही कारणले उनीप्रतिको असन्तुष्टि बढ्दै गएको रास्वपाका एक सांसदले बताए ।

‘यसअघि भागवण्डामा पार्टीले पाएकाले गृह मन्त्रालय पार्टीलाई चाहिन्छ भन्ने एउटा कुरा तर आफैंलाई नै चाहिन्छ भन्ने कुरा अर्को,’ रास्वपाका ती सांसदले भने, ‘उहाँका कारण हामीले नयाँ पार्टी भए पनि पुरानै चालढाल अपनाएको जनताले संकेत गरिसकेका छन् ।’

रवि लामिछानेले आफूले गृह मन्त्रालय नपाए सरकार छोड्ने चेतावनी दिए पनि प्रधानमन्त्री दाहालले रविको दोहोरो पासपोर्टको विषयमा छानबिन भइरहेकाले उनलाई वा उनको पार्टीलाई गृह मन्त्रालय दिन नसकिने स्पष्ट पारिसकेका छन् ।

Untitled
Untitled
Untitled