२०८० फागुन ११ शुक्रवार | Friday, Feb 23 2024

चितवन २, तनहुँ १ र बारा २ मा पनि वैशाख १० मै उपनिर्वाचन गर्ने आयोगको निर्णय

काठमाडौँ, निर्वाचन आयोगले तनहुँ १ र बारा २ मा पनि वैशाख १० मै उपनिर्वाचन गर्ने निर्णय गरेको छ। यसअघि नै आयोगले चितवन २ मा सोही मितिमा उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ ।

आयोगको सोमबार बसेको बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम उपनिर्वाचन गर्ने निर्णय गरेको हो ।

उक्त दिन बिहान ७ः०० बजेदेखि बेलुका ५ः०० बजेसम्म मतदान हुने गरी मतदानको समयसमेत निर्धारण गरिएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।

फागुन २५ गते सम्पन्न निर्वाचनबाट रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि तनहुँ–१ मा उपनिर्वाचन हुन लागेको हो ।

यस्तै चैत ३ गते सम्पन्न उपराष्ट्रपति निर्वाचनमा रामसहाय प्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएसँगै बारा २ मा पनि उपनिर्वाचन हुन लागेको हो ।

संविधानअनुसार प्रतिनिधिसभा सदस्य राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित भएमा पद रिक्त हुने र उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

संविधानको धारा ८४ को उपधारा (७) बमोजिम प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा उपनिर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

यस्तै नागरिकता प्रकरणमा रवि लामिछानेले सांसद पद गुमाएपछि चितवन २ मा पनि उपनिर्वाचन हुन लागेको हो ।