२०८३ असार १ सोमवार | Monday, Jun 15 2026

अमेरिका–इरान सहमतिपछि कच्चा तेलको मूल्यमा ठूलो गिरावट

Untitled
Untitled
Untitled

एजेन्सी, अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमतिसम्बन्धी घोषणा सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय ऊर्जा बजारमा सकारात्मक प्रभाव देखिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग समझदारी कायम भएको र इरानी बन्दरगाहमाथि लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी हटाइने जानकारी दिएसँगै कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा घटेको हो।

युद्धका कारण लामो समयदेखि दबाबमा रहेको विश्व ऊर्जा बजारले यो घोषणालाई राहतका रूपमा लिएको छ।

सम्झौताको संकेतसँगै अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुडको मूल्य करिब ३.९ प्रतिशतले घटेर प्रतिब्यारेल ८४ डलरको हाराहारीमा पुगेको छ।

त्यस्तै अमेरिकी कच्चा तेल (डब्लुटिआई) को मूल्य पनि ४.८ प्रतिशतले ओरालो लाग्दै प्रतिब्यारेल ८१ डलर आसपास कायम भएको छ।

विश्लेषकहरूका अनुसार मूल्य यही स्तरमा कायम रहेमा मार्च महिनापछि कच्चा तेलले सबैभन्दा न्यून मूल्यको बिन्दु छोएको मानिनेछ।

यसअघि सम्झौताबारे सकारात्मक संकेत देखिएपछि गत शुक्रबार नै तेलको मूल्य प्रतिब्यारेल ९० डलरभन्दा तल झरेको थियो।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमार्फत इरानसँगको सहमति अन्तिम चरणमा पुगेको जानकारी दिएका थिए।

इरानले पनि दुवै पक्षबीच समझदारी पत्र तयार भइसकेको र आगामी शुक्रबार स्विट्जरल्यान्डमा हस्ताक्षर हुन सक्ने जनाएको छ।

यसैबीच, विश्वकै महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्ग मानिने हर्मोज जलडमरूमध्यलाई पुनः निर्बाध रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको बताइएको छ।

युद्धका क्रममा उक्त मार्ग प्रयोग गर्ने जहाजहरूबाट अतिरिक्त शुल्क लिने व्यवस्था गरिएको थियो।

अब मार्गलाई पूर्ण रूपमा खुला गर्न त्यहाँ राखिएका समुद्री माइन हटाउनुपर्ने अवस्था रहेको जनाइएको छ।

यद्यपि बजारमा सकारात्मक संकेत देखिए पनि ऊर्जा क्षेत्र पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन अझै समय लाग्ने विज्ञहरूको भनाइ छ।

मध्यपूर्वका केही तेल उत्पादन केन्द्रहरू अझै पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन्।

साथै युद्धका कारण प्रभावित आपूर्ति सञ्जाल, भण्डारण संरचना तथा यातायात व्यवस्थालाई पुनः व्यवस्थित गर्नुपर्ने चुनौती बाँकी नै छ।

ऊर्जा विश्लेषकहरूका अनुसार तत्कालका लागि तेलको मूल्य घटेपनि भविष्यमा माग बढ्दै गएपछि पुनः मूल्य वृद्धि हुन सक्ने सम्भावना छ।

विशेषगरी विभिन्न मुलुकहरूले आफ्ना रणनीतिक इन्धन भण्डार पुनः भर्न थालेमा बजारमा नयाँ दबाब सिर्जना हुन सक्ने अनुमान गरिएको छ।

युद्ध अन्त्यतर्फको प्रगतिले वित्तीय बजारमा समेत सकारात्मक प्रभाव पारेको छ। अमेरिकी सेयर बजारका फ्युचर्स सूचकहरूमा सुधार देखिएको छ।

डाउ जोन्स फ्युचर्स करिब ०.६ प्रतिशतले उकालो लागेको छ भने एस एन्ड पी ५०० र नास्डाक फ्युचर्समा पनि ०.७ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ।

Untitled
Untitled
Untitled