२०८३ असार १ सोमवार | Monday, Jun 15 2026

कोशीदेखि सुदूरपश्चिमसम्म मौसम प्रभावित, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना उच्च

Untitled
Untitled
Untitled

काठमाण्डौ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु तथा पूर्वीय वायुको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस मौसमी प्रणालीको प्रभावका कारण देशका विभिन्न प्रदेशमा बादल, वर्षा तथा हिमपातको सम्भावना देखिएको छ।

महाशाखाका अनुसार हाल देशको हिमाली तथा पहाडी भू–भागसहित मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली देखिएको छ भने बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ।

यसैगरी कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।

दिउँसोको पूर्वानुमान अनुसार देशको हिमाली भू–भाग तथा कोशी प्रदेशका पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ।

पहाडी भू–भागमा आंशिक बदलीको अवस्था रहनेछ भने कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि आंशिक बदली रहने अनुमान गरिएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा भने मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै कोशी प्रदेशको तराईका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा केही स्थानमा तातो दिन (उष्ण मौसम) रहने सम्भावना समेत रहेको विभागले जनाएको छ।

रातिको पूर्वानुमान अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू–भागमा पनि आंशिक बदली रहनेछ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

यसैगरी कोशी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना पनि रहेको विभागले जनाएको छ।

साथै कोशी प्रदेशको तराईका केही स्थान र मधेस प्रदेशका एक–दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

Untitled
Untitled
Untitled