काठमाण्डौ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्ने भएको छ।
संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे सञ्चालन हुने तय गरिएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकमाथिको दफावार छलफल शुरु हुने कार्यसूची रहेको छ।
सचिवालयका अनुसार विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न मन्त्रालयका बजेट शीर्षकमाथि समूहगत रूपमा छलफल अघि बढाइनेछ।
आजको छलफलमा युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा वातावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालय तथा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयका बजेट शीर्षकहरू समावेश गरिनेछ।
यसैगरी राष्ट्रियसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८३र८४ को राजस्व तथा व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल जारी रहनेछ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

































