२०८१ मंसिर २७ बिहीवार | Thursday, Dec 12 2024

प्रधानमन्त्री दाहालले पाए विश्वासको मत, दाहालका पक्षमा १७२ र विपक्षमा ८९ मत

Untitled
Untitled
Untitled

काठमाडौं, प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट विश्वासको मत लिएका छन् । सोमबारको प्रतिनिधिसभा बैठकबाट प्रधानमन्त्री दाहालले विश्वासको मत लिएका हुन् ।

विश्वासको मतको प्रस्तावको पक्षमा १७२ र विपक्षमा ८९ मत परेको छ । एक मत तटस्थ रहेको छ । प्रतिनिधिसभाको सोमबारको बैठकमा कुल २६२ जनाको उपस्थिति थियो।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकमा विश्वासको मतको पक्ष र विपक्षमा भएको मत विभाजनको परिणाम सार्वजनिक गरेका थिए ।

प्रधानमन्त्री दाहालले नेपालको संविधानको धारा ७६ को उपधारा (४) बमोजिम प्रतिनिधि सभाबाट विश्वासको मत लिएका हुन् ।

प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र आम जनता पार्टीका सांसद तथा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले विश्वासको मत दिए ।

एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किसान पार्टी भने प्रस्तावको विपक्षमा मत दिएका छन् । नेपाल मजदूर किसान पार्टी तटस्थ बसेको हो।

प्रधानमन्त्री दाहाल नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत हुन् । माओवादी केन्द्र ३२ सिटसहित संसद्‍को तेस्रो ठूलो दल हो ।

मङ्सिर ४ मा सम्पन्न प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन पश्चात् दाहाल पुस १० गते प्रधानमन्त्री नियुक्त भएका हुन् ।

सरकार गठनपछि पहिलो पटक विश्वासको मत लिने क्रममा पुस २६ गते प्रधानमन्त्रीले ऐतिहासिक बहुमत प्राप्त गरेका थिए ।

पहिलो पटक उनले प्रतिनिधिसभाको कुल सदस्य दुई सय ७५ मध्ये पक्षमा दुई सय ६८ मत पाएका थिए ।

अघिल्लो गठबन्धनभित्र राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको विषयमा कुरा नमिलेपछि एमाले र राप्रपा सरकारबाट बाहिरिएका थिए ।

दुई दलले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकार छोडेपछि प्रधानमन्त्री दाहालले पुनः विश्वासको मत लिनु परेको हो ।

प्रतिनिधिसभाको अर्को बैठक चैत १२ गते दिउँसो १ बजे बस्नेछ ।

Untitled
Untitled
Untitled