२०८३ असार ४ बिहीवार | Thursday, Jun 18 2026

वागमतीमा राजीनामा पर्खिँदै इन्द्र बानियाँ, कांग्रेसको संस्थागत निर्णयलाई स्वीकार गर्ने एमालेको निर्णय

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाली कांग्रेसभित्रको आन्तरिक विवादका कारण प्रदेशसभा संसदीय दलका नेता नै परिवर्तन भएपछि बागमती प्रदेश सरकारमै प्रभाव परेको छ ।

गतवर्ष साउनमा कांग्रेस संसदीय दलको नेताको हैसियतमा एमालेसँगको गठबन्धनमा मुख्यमन्त्री बनेका बहादुरसिंह लामा अहिले संसदीय दलको नेताबाट हटाइएका छन् ।

मुख्यमन्त्री बन्ने लक्ष्यका साथ कांग्रेस बागमती प्रदेश कार्यसमितिका सभापतिसमेत रहेका इन्द्रकहादुर बानियाँको अगुवाइमा लामा संसदीय दलको नेताबाट हटाइएका हुन् ।

गएको बुधबार बानियाँले नै संसदीय दलको चुनावमा लामालाई पराजित गरेका थिए । अब उनी मुख्यमन्त्री बन्ने पहलमा लागेका छन् ।

तर, संसदीय दलको नेतामा पराजित भएपनि लामाले मुख्यमन्त्रीबाट राजीनामा नामा नदिने बताएपछि बानियाँ उनको राजीनामा कहिले आउँछ भन्ने पर्खाइमा छन् ।

बानियाँले भने, ‘उहाँ (लामा) संसदीय दलको नेताका हैसियतमा मुख्यमन्त्री बन्नुभएको हो । अब उहाँ संसदीय दलको नेता नरहेकाले उहाँले राजीनामा दिनुपर्छ, दिनुहुन्छ भन्ने विश्वास छ ।’

बानियाँले लामाको राजीनामा आउने अपेक्षा गरे पनि विषय त्यति सजिलो छैन । कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार आफ्नो निवास बूढानीलकण्ठमा बोलाएर लामासँग छलफल गरेका थिए ।

सो छलफलमा देउवाले राजीनामा दिन सुझाएको स्रोतहरू बताउँछन् । तर, लामाले शुक्रबारसम्म राजीनामा दिएका छैनन् ।

बरु उनी हेटौँडा नफर्की काठमाडौंमा आफ्नो सरकार जोगाउने कसरतमा लागिरहेका छन् ।

लामाले भने, ‘म काठमाडौंमै छु । केही भेटघाटहरू भइरहेका छन् ।

अहिले मैले निर्णय गरिसकेको छैन ।’ पार्टी सभापतिले नै राजीनामा दिन सुझाएकाले उनी दोधारामा छन् ।

किनकि संविधानअनुसार लामा राजीनामा दिन बाध्य छैनन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेको सांसद संसदीय दलको नेता हुनैपर्ने बाध्यता छैन ।

सो उपधारामा दुई वा दुईभन्दा बढी दलको समर्थमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्य मुख्यमन्त्री बन्नसक्ने व्यवस्था छ ।

तर, पार्टी सभापति पनि सकारात्मक नरहेपछि उनले पार्टी सभापतिको निर्देशन उल्लंघन गर्न सक्ने अवस्था छैन ।

११० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेसका ३७ सांसद छन् । यस्तै सत्ता साझेदार दल नेकपा एमालेसँग २७ सिट छ ।

यी दुई दलको मात्र स्पष्ट बहुमत ६४ सिट हुन्छ । त्यसैले अर्को गठबन्धन बन्ने परिस्थिति पनि छैन ।

र, केन्द्रमा रहेको सत्ता गठबन्धनको विकल्पमा जान सकिने अवस्था पनि छैन ।

सत्ता साझेदार नेकपा एमालेले संसदीय दलकै बैठकबाट कांग्रेसको संस्थागत निर्णयलाई स्वीकार गर्ने निर्णय गरिसकेको छ ।

यही विषयमा बिहीबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले कांग्रेस सभापति देउवालगायतका नेताहरूसँग छलफल पनि गरेका थिए ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो छलफलमा प्रधानमन्त्रीले कांग्रेसको विवादबारे कुरा निकालेपछि कांग्रेस सभापति देउवाले आन्तरिक रूपमै मिलाउने जवाफ दिएको भेटमा सहभागी नेताहरू बताएका छन् ।

सो छलफलमा सहभागी रहेका गृहमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले भनेका थिए, ‘बागमतीमा देखिएको विवादबारे हामी सत्ता साझेदार दलका बीचमा छलफल भएको छ ।’

यस्तो बेला एमालेले कांग्रेसको आन्तरिक विवादमा निर्णायक भूमिका खेल्ने कुरा पनि भएन । किनकि कांग्रेससँगको सहकार्यमा केन्द्रदेखि अन्य प्रदेशसम्म एमाले सरकारको नेतृत्वमा छ ।

त्यसैले लामासँग विकल्पहरू सीमित रहेको कांग्रेस नेताहरू बताउँछन् । उनले सभापति देउवालाई मनाउने बाहेक अन्य विकल्प अहिले देखिएको छैन ।

मुख्यमन्त्री बन्ने अपेक्षामा रहेका बानियाँ भन्छन्, ‘प्रदेशसभामा मतदान भयो भने उहाँ (लामा) ले समेत आफूलाई मत दिन पाउनुहुन्न ।

संसदीय दलले ह्विप लगायो भने त्यस्तो स्थिति बन्छ । उहाँले राजीनामा दिनुपर्ने हुन्छ । दिनुहुन्छ ।

कांग्रेस संसदीय दलको विधानमा पनि यसबारे स्पष्ट व्यवस्था छ ।’

Untitled
Untitled
Untitled