२०८३ असार ४ बिहीवार | Thursday, Jun 18 2026

पोटिब्यूरोबाट पनि पारित भयो उमेरहद र कार्यकालको विषय, भण्डारीबारे निर्णय केन्द्रीय कमिटीबाट

Untitled
Untitled
Untitled

काठमाण्डू, नेकपा एमालेको पोलिटब्यूरोले समेत यसअघि रहेको दुई कार्यकाल र उमेरहदसम्बन्धी व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ ।

यसअघि यो प्रस्ताव पार्टी सचिवालयले पारित गरेको थियो । सचिवालयले पारित गरेको प्रस्ताव पोलिटब्यूरोबाट पनि पारित भएको पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

दुई दिनसम्म चलेर शनिबार सकिएको पोटिब्युरो बैठकमा ६८ जना सदस्यहरूले धारणा राखेका थिए ।

यसरी आएका धारणाका आधारमा ७० वर्ष उमेरहद लागू गर्ने विषय हालको विधानमा रहेकाले त्यसलाई हटाउने प्रस्ताव पारित भएको उनले जानकारी दिए ।
‘विधान संशोधनसम्बन्धी प्रस्तावलाई पोलिटब्युरो बैठकले स्वीकार गरेको छ । सामान्य सुझावलाई समावेश गर्नेगरी पारित गरेको छ ।

त्यसभित्रका महत्त्वपूर्ण कुरा भनेको पार्टीभित्र दुई सदस्यताको व्यवस्था र उमेरहदको व्यवस्था खारेज गर्ने कुरा हो ।

त्यसलाई स्वीकार गर्दै आजको बैठकद्वारा निर्णय गरेका छौं,’ गौतमले भने ।

पोलिटब्युरोको यो निर्णयसँगै उमेरहद लागू गर्ने र अध्यक्षमा दुई कार्यकालभन्दा बढी हुन नपाइने विधानको व्यवस्था यथावत राख्ने पक्षमा रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलनिकटहरूको प्रयास असफल हुने देखिएको छ ।

२ असारको सचिवालय बैठकले उमेरहद र कार्यकालको विषयमा प्रस्ताव पारित गरेपछि वरिष्ठ उपाध्यक्ष पोखरेलले हालको विधानको व्यवस्थालाई यथावत राख्नेपक्षमा अडान राख्न पोलिटब्यूरो सदस्यहरूलाई आह्वान गरेका थिए । तर, उनको आह्वानअनुसार निर्णय भएन ।

यसरी विधानका यी दुई महत्त्वपूर्ण व्यवस्था हटाउनुका पछाडि हालका अध्यक्ष केपी ओलीको तेहेरिने लक्ष्यसँग सम्बन्धित छ ।

ओली पार्टीको आगामी ११ औँ महाधिवेशनबाट फेरि अध्यक्ष हुने तयारीका साथ अगाडि बढेका हुन् ।

अहिलेको विधानले उनलाई रोक्ने भएकाले ती विधानका अवरोधहरू आगामी महिना हुने विधान महाधिवेशनबाट हटाउन लागिएको छ ।

विधान महाधिवेशनमा प्रस्तुत हुने संशोधन प्रस्ताव सचिवालय र पोलिटब्यूरोबाट पारित भएको छ ।

अब यही साउन ५ गते बस्ने केन्द्रीय कमिटी बैठकमा यो विषयमाथि छलफल हुने प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

यस्तै विद्या भण्डारीका विषयमा पनि बैठकमा कुरा उठेको गौतमले बताए । तर, निर्णय भने नभएको उनले जानकारी दिए ।

बैठकपछि उनले भने, ‘सम्मानीय राष्ट्रपतिको विषयमा बैठकमा जोडदार कुरा उठेको छ । तर, अहिले निर्णय भएको छैन ।

अध्यक्ष (ओली) ले पार्टीको अलि ठूलो फोरमबाट निर्णय लिइने रुलिङ गरेपछि पोलिटब्युरोले निर्णय गरेन ।’ उनले उपयुक्त समयमा निर्णय हुने बताए ।

राष्ट्रपति भइसकेकी भण्डारी एमालेको अध्यक्ष हुने लक्ष्यका साथ एमालेमा सक्रिय भएकी छिन् ।

तर, अध्यक्ष ओली स्पष्ट रूपमा उनलाई रोक्ने गरी लागेका छन् । तर, विधानबाटै भण्डारीलाई अवरोध हुने गरी कुनै प्रस्ताव नहुने प्रचार विभाग प्रमुख गौतमले बताए ।

उनले यसअघि आएका हल्लाहरूमा कुनै सत्यता नभएको समेत दाबी गरे । तर, भण्डारीको पार्टी सदस्यता भने नवीकरण नभएको बताए ।

असार १४ मा भण्डारीले आफूले पार्टीको सदस्यता नवीकरण गरेको र एमाले परिवारको सदस्य भएको बताएकी थिइन् ।

प्रचार विभाग प्रमुख गौतमले भने भण्डारीको सदस्यता नवीकरण पेन्डिङमा रहेको बताए । उनले यसबारे पार्टीले निर्णय गर्ने जनाए ।

Untitled
Untitled
Untitled