२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

यस बर्ष एसइईको नतिजामा सुधार

Untitled
Untitled
Untitled

काठमाण्डू, माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा गत वर्षको तुलनामा राम्रो सुधार भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार २०८१ सालको परीक्षामा ६१.८१ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

परीक्षामा कुल चार लाख ३८ हजार ८९६ परीक्षार्थी सहभागी भएका थिए, जसमध्ये दुई लाख ७१ हजार २९९ जना उत्तीर्ण भएका छन् । एक लाख ६७ हजार ५९७ जना अनुत्तीर्ण अर्थात् नन ग्रेडेडमा परेका छन् ।

यस पटकको नतिजा पछिल्लो वर्षको तुलनामा उच्च उत्तीर्ण दर हो । गत वर्ष एसइईमा ४७.८६ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका थिए ।

अहिलेको नतिजा गत वर्षको भन्दा १४ प्रतिशतले धेरै हो । यस पटक एसइईमा न्यूनतम ७० प्रतिशत परीक्षार्थी उत्तीर्ण गराउने गरी सरकारी तयारी थियो ।

ग्रेडवृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीको उत्तीर्ण प्रतिशतलाई समेत आधार मानेर गणना गर्ने हो भने सरकारी लक्ष्यभन्दा पनि बढी उपलब्धि हुने देखिन्छ ।

शिक्षाविद्हरूले समेत नतिजामा सुधार हुनु सकारात्मक रहेको प्रतिक्रिया दिए ।

काठमाडौँ विश्वविद्यालय स्कूल एफ एजुकेसनका डिनसमेत रहेका शिक्षाविद् प्रा.डा. बालचन्द्र लुइटेलले अहिलेको नतिजालाई राम्रो मान्नुपर्ने बताए ।

तर, अझै पनि परीक्षार्थीको सिकाइलाई भन्दा पनि नतिजालाई मात्रै प्राथमिकता दिने सोचमा भने परिवर्तन हुनुपर्ने शिक्षाविद् लुइटेलले बताए ।

उनले भने, “नतिजा हेर्दा गत वर्षको भन्दा धेरै नै सुधार भएको छ ।

यसलाई अझै ९० प्रतिशत पुर्‍याउने गरी विद्यालय शिक्षाको अन्तिम खुड्किलो मानिने कक्षा १२ को नतिजा सुधारतर्फ अहिलेको जनशक्ति र स्रोतलाई परिचालन गर्नु पर्छ ।”

नतिजा सार्वजनिक कार्यक्रममा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले गत वर्षको नतिजामा आधाभन्दा बढी परीक्षार्थी अनुत्तीर्ण भएपछि सरोकारवाला सबैको ध्यान यस पटकको नतिजा सुधार गर्नु पर्छ भन्नेतर्फ केन्द्रित भएको र त्यसैको परिणाम अहिले देखिएको बताए ।

“गत वर्ष धेरै परीक्षार्थी अनुत्तीर्ण भएपछि स्थानीय तहदेखि केन्द्रसम्मै हामीले नतिजा विश्लेषण गर्‍यौँ ।

विद्यार्थी कमजोर भएका विषयको सिकाइ सुधार्नेतर्फ अध्ययन गर्‍यौँ,” शर्माले भने, “सोही अनुसार रणनीति बनाएर शिक्षक कर्मचारी परिचालन गर्‍यौँ र विद्यार्थीलाई पनि सोही अनुसार पढाइमा खटायौँ ।

त्यसको परिणाम नतिजामा देखियो ।” परीक्षामा उत्तीर्ण परीक्षार्थीलाई बोर्डले ग्रेडेड समूहमा राख्ने गर्दछ ।

यो समूहमा पर्न परीक्षार्थीले सैद्धान्तिकतर्फ हरेक विषयमा न्यूनतम ३५ प्रतिशत र आन्तरिकतर्फ न्यूनतम ४० प्रतिशत अङ्क ल्याउनै पर्छ ।

सैद्धान्तिकतर्फको ७५ पूर्णाङ्कको विषयमा कम्तीमा २७ अङ्क र आन्तरिकतर्फको २५ पूर्णाङ्कमा कम्तीमा १० अङ्क प्राप्त गर्नुपर्ने व्यवस्था छ ।

यो व्यवस्था गर्त वर्षदेखि लागु गरिएको हो । पहिलो पटक लागु गरिएका कारण गतवर्ष धेरै परीक्षार्थी अनुत्तीर्ण भएको र सोही अनुत्तीर्ण दरलाई हेरेर विद्यार्थीमा पढ्ने बानीको समेत विकास हुँदा नतिजा अहिले सुधारिएको बोर्डको विश्लेषण छ ।

परीक्षामा कुल चार लाख ३८ हजार ८९६ परीक्षार्थी सहभागी थिए ।

जसमध्ये बोर्डले परीक्षार्थीको प्राप्ताङ्क अनुसार उच्च अङ्क ल्याउनेलाई जीपीए ३.६० देखि ४ सम्म र सबैभन्दा कम ल्याउनेलाई एनजीसहित सात समूहमा राखेर नतिजा प्रकाशन गरेको छ ।

बोर्डका अनुसार जीपीए १.६० देखि २ भन्दा कम– ८ जना, जीपीए २ देखि २.४० भन्दा कम– ४,१२६ जना, जीपीए २.४० देखि २.८० भन्दा कम– ४८,४७९ जना, जीपीए २.८० देखि ३.२० भन्दा कम– ८९,१२४ जना, जीपीए ३.२० देखि ३.६० भन्दा कम– ८१,३८५ जना, जीपीए ३.६० देखि ४ सम्म– ४८,१७७ जनाले ल्याएका छन् ।

Untitled
Untitled
Untitled