२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि राजनीतिक दलसँग गठबन्धन गर्दैन् : महामन्त्री शर्मा

Untitled
Untitled
Untitled

भक्तपुर, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कांग्रेसले कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगर्ने बताएका छन् ।

भक्तपुरको सूर्यविनायकमा आयोजित सहिद राधेश्याम जोन्छेको १२औँ वार्षिकीमा उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रने बताएका हुन् ।

उनले गठबन्धनको अनुभव पार्टीलाई भएको भन्दै त्यसतर्फ नलाग्ने नेतृत्वको अनौपचारिक निर्णय सुनाएका थिए ।

कांग्रेसमा आन्तरिक लोकतन्त्रको राम्रो अभ्यास भइरहेको बताउँदै महामन्त्री शर्माले कांग्रेस केन्द्रमा मात्र नभई तल्लो तहदेखि नै बदलिनुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले नेपाली कांग्रेसलाई अहिलेको अवस्थामा ल्याउन जोन्छेको योगदान अतुलनीय रहेको बताए ।

उनले कांग्रेसलाई जिल्लामा एक ढिक्का बनाएर अघि बढाएका कारण अहिले भक्तपुर जिल्लामा पार्टी पहिलो बन्न सफल भएको बताए ।

प्रतिष्ठानकी अध्यक्ष रजनी जोन्छेले निः सहायलाई पढाउन छात्रवृत्तिकोष विस्तार गरी त्यसमा पाँच लाख थपिने जानकारी दिए ।

चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले जोन्छेलगायत सहिदले पार्टीका लागि पुर्याएको योगदानको चर्चा गरे ।

कांग्रेस भक्तपुरका पूर्वजिल्ला सभापति गणेशमान चक्रधरले आफ्नो कुरा स्पष्ट राख्ने निडर जोन्छेजस्तो व्यक्तित्व अहिले पार्टीमा कोही नभएको बताए ।

कांग्रेसका केन्द्रीय सदस्य एवम् भक्तपुरका पूर्वसभापति मदकृष्ण श्रेष्ठले माओवादीको कडा आलोचक भएकै कारण जोन्छेलाई माओवादीले गोली हानेका बताए ।

कांग्रेस भक्तपुरका पूर्वजिल्ला सभापति तिलकप्रसाद कायस्थ, प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष बाबुराजा जोशी, प्रतिष्ठानका महासचिव जगन्नाथ कार्कीलगायतले नेपाली कांग्रेसका लागि जोन्छेले पुर्याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा मेधा माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई १२ हजार र सुवर्णेश्वर आधारभूत विद्यालयका दुई छात्रालाई जनही आठ हजार छात्रवृत्ति प्रदान गरिएको थियो ।

रासस

Untitled
Untitled
Untitled