२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

मेलम्ची बाढीको तीन वर्ष पूरा, पुन: र्निर्माणमा भएको सुस्तताले स्थानीयवासी चिन्तित

Untitled
Untitled
Untitled

सिन्धुपाल्चोक, हेलम्बू गाउँपालिका=४ का खिलप्रसाद लामिछानेलाई बर्खायाम सुरु भएसँगै कसरी बच्ने र बचाउने भन्ने चिन्ताले पिरोल्छ ।

खोलामा सामान्य बाढी आउँदासमेत सडक, विद्यालय र घरहरू उच्च जोखिममा पर्ने भएकाले उहाँसहित स्थानीयवासी अहिले चिन्तित छन् ।

वि।सं।२०७८ असार १ गते सिन्धुपाल्चोकको मेलम्ची र इन्द्रावती नदीमा अकल्पनीय बाढी आएको आज तीन वर्ष पूरा भएको छ ।

असार १ र यसपछिका पटक पटकका बाढीका कारण ठुलो जनधनको क्षति भएको थियो ।

नदी तटीय क्षेत्रका सयौँ घर र खेतीयोग्य जमिन बगरमा परिणत भएको थियो भने हजारौँ नागरिक विस्थापित भएका थिए ।

बाढीले क्षति पुर्‍याएको तीन वर्ष बिते पनि धेरै प्रभावित अस्थायी टहरामै बसिरहेका छन् । उनीहरू सुरक्षित बसोबासको पर्खाइमा छन् ।

मेलम्ची बाढी प्रभावित मेलम्चीका सन्तोषी श्रेष्ठ यो वर्ष धेरै पानी पर्ने भनिएकाले आनन्दले बस्न नपाउने भएको दुखेसो गर्छन् ।

मेलम्ची-११ का रमेश श्रेष्ठ बल्लबल्ल गाउँमा घर बनाए पनि सरकारले दिने भनेको अनुदान रकम प्राप्त नभएको बताए ।

तीन वर्षदेखि अस्थायी टहराको सकसपूर्ण जीवनले बाँच्नै गाह्रो भएको बाढी पीडितको भनाइ छ ।

बाढीका कारण विस्थापित हेलम्बु, मेलम्चीका स्थानीयवासी सुरक्षित ठाउँमा घर कहिले बनाउन पाइएला भन्ने आशामा छन् ।

नदी तटीय क्षेत्रका बासिन्दाको कथाव्यथा पनि उस्तै छ । नदी नियन्त्रणको काम गुणस्तरीय नभएको मेलम्चीका दशरथ दनुवारले गुनासो गरेका छन् ।

बाढीका कारण हेलम्बु गाउँपालिकामा तीन सय ९२ जना लाभग्राही कायम भएकामा हालसम्म सय जनाले मात्र पहिलो किस्ता पाएका छन् ।

त्यस्तै, १५ जनाले जग्गा खरिद गरेका छन् । मेलम्ची नगरपालिकामा कायम भएका दुई सय ४४ लाभग्राहीमध्ये दुई सय ३२ जनाले पहिलो, ७० जनाले दोस्रो र आठ जनाले मात्र अन्तिम किस्ता पाएका छन् ।

यस्तै पाँचपोखरी थाङपाल गाउँपालिकामासमेत एक सय ८४ जना लाभग्राही छन् भने ९२ जनाले खरिद जग्गा गरेका पालिकाले जनाएको छ ।

सरकारले जग्गा नभएकालाई खरिद गर्न बढीमा तीन लाख र घर बनाउन पाँच लाख तथा अस्थायी आवास बनाउन ५० हजार दिने बताएको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्ष टासी लामाले विस्थापित स्थानीयको स्थायी आवास पुनः निर्माण प्रक्रियामा स्थानीय तहले काम गरे पनि प्रदेश र सङ्घीय सरकारले त्यति चासो नदिएको बताए ।

उनले भने , “कार्यविधि परिवर्तनले समस्या भएको तथा समयमै प्रदेश र सङ्घीय सरकारले रकम पनि विनियोजन गरेको छैन ।”

नदी नियन्त्रण र व्यवस्थापनका लागि स्थानीय तहको मात्रै प्रयासले नसकिने बाढी प्रभावित मेलम्ची नगर प्रमुख आइतमान तामाङको दावी छ ।

हेलम्बू गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले सङ्घीय र प्रदेश सरकारले हेलम्बू मेलम्ची बाढीलाई प्रभावितलाई पुनस्थापनामा खासै ध्यान नदिएको गुनसो गर्दै स्थानीय तहले आफ्नो कर्तव्य पूरा गरिरहेको बताए ।

प्राकृतिक विपद्का हिसाबले उच्च जोखिममा रहेको जिल्लामा वर्षायाममा आउने बाढी, पहिरो तथा अन्य विपद् पूर्वसूचना प्रणाली, विपद् प्रतिकार्य योजना एवम् सामग्रीको उचित व्यवस्थापनको कमजोरीले पनि बर्सेनि जनधनको क्षति हुने गरेको छ ।

वि.सं.२०७८ असार १ गतेको बाढीले हेलम्बू गाउँपालिका, मेलम्ची नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाको मात्रै पाँच सय ५१ घर बगाएको थियो ।

पाँच हजार चार सय रोपनी खेतीयोग्य जमिन बगर बन्यो भने २५ जनाको अकालमा मृत्यु भएको थियो ।

राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनासँगै सात झोलुङ्गे पुल, नौ पक्की पुललगायत ३३ संरचना ध्वस्त भएका थिए ।

रासस

Untitled
Untitled
Untitled