२०८३ असार ३ बुधवार | Wednesday, Jun 17 2026

एमालेभित्र भूगोलैपिच्छे फरक–फरक गुट–उपगुट , बागमतीमा बास्कोटा-बस्नेत समूहबीच भिडन्त

Untitled
Untitled
Untitled

काठमाडौं, नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन सोमबार उद्घाटन हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा हुने अधिवेशनबाट चुनिने नेतृत्वबारे राजनीतिक वृत्तमा व्यापक चर्चा भइरहेको छ ।

संघीय राजधानीसमेत रहेका कारण यहाँको नेतृत्वलाई एमालेभित्र पनि निकै महत्वका साथ हेरिएको छ । साथै धेरै केन्द्रीय नेताहरु भएका कारण पनि यहाँको प्रतिस्पर्धा रोचक हुने निश्चित छ ।

एमालेले प्रदेशहरुमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने बताएको थियो । तर, लुम्बिनी प्रदेशमा दुईवटा प्यानलै बनाएर चुनाव भएपछि त्यसको प्रभाव बागमतीमा पनि परेको छ । र, यहाँ पनि नेतृत्व चयनका लागि चुनाव हुने निश्चितप्रायः छ ।

माधव नेपाल र झलनाथ खनालहरु एमालैमै रहँदा दुई गुट मात्रै सतहमा देखिन्थे । तर, अहिले एमालेभित्र भूगोलैपिच्छे फरक–फरक गुट–उपगुट निर्माण भएका छन् ।

लुम्बिनीमा उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलका गुटबीच प्यानलै बनाएर चुनाव भयो । त्यसपछि हुन लागेको बागमती प्रदेश अधिवेशनमा भने फरक गुटबीच प्रतिस्पर्धा हुँदैछ ।

बास्कोटा र बस्नेत समूहको आ-आफ्नै तयारी

अहिलेसम्म बागमतीमा प्रष्ट गुट बनिसकेको छैन । तर, यो अधिवेशनपछि जबरजस्त दुई गुट स्थापित हुने निश्चित छ ।

किनकि, भावी नेतृत्वका लागि पोलिट्ब्युरो सदस्यद्वय गोकुल बास्कोटा र महेश बस्नेतले अघोषितरुपमा आ–आफ्ना उम्मेदवार मैदानमा पठाउँदैछन् ।

काभ्रेका बास्कोटाले आफ्नो समूहबाट अध्यक्षका लागि मकवानपुरका कृष्णप्रसाद दाहाललाई मैदानमा उतार्दैछन् ।

दाहालको समूहबाट उपाध्यक्षमा धादिङका भूमी त्रिपाठी र ललितपुरका नवराज सिलवालमध्ये एकजना उम्मेदवार हुने पक्कापक्की जस्तै छ ।

त्यस्तै भक्तपुरका बस्नेतले भने अध्यक्षमा रामेछापका कैलाश ढुंगेललाई अघि सारेका छन् । ढुंगेलको समूहबाट उपाध्यक्षमा भने चितवनका दावादोर्जे लामा चुनाव लड्दैछन् ।

सचिवमा भने दुवैतर्फ अन्योल देखिन्छ । नेकपा एसमा गएर फर्केका सिन्धुपाल्चोकका सुवास कर्माचार्य, सिन्धुपाल्चोककै हस्त पण्डित र चितवनका कृष्णभक्त पोखरेलको नाम चर्चामा छ । तर, उनीहरुको गुट खुलिसकेको छैन ।

बागमतीमा प्रभावशाली मानिने ‘दश बुँदे’वालाका नेता सुरेन्द्र पाण्डेनिकट कर्माचार्य र पोखरेल तानातानमै छन् । त्यस्तै पण्डित पनि कुन समूहबाट लड्ने भन्ने अन्योलमै छन् ।

उपसचिवमा भने बास्कोटा टीमबाट धादिङकी राधिका सापकोटा र बस्नेत टीमबाट धादिङकै रमेश आचार्य चुनाव लड्ने सम्भावना प्रबल छ ।

यससँगै पदाधिकारीमा जान चाहनेहरुको सूची निकै लामो छ । दोलखाका ईश्वरचन्द्र पोखरेलदेखि काभ्रेका कञ्चन अधिकारीसम्मको नाम चर्चामा छ ।

अध्यक्षकै लागि नुवाकोटका नेता एवम् अहिलेको प्रदेश अध्यक्षसमेत रहेका केशव पाण्डे, दोलखाकी नेतृ रचना खड्का र काठमाडौंका सानुकुमार श्रेष्ठलगायत थुप्रै नेताको नाम चर्चामा छ ।

तर, अन्तिममा चुनावै हुने अवस्थामा दाहाल र ढुंगेल नै मैदानमा हुने सम्भावना छ । अध्यक्षका दाबेदार अधिकांशले आफूलाई पार्टी केन्द्रीय अध्यक्ष केपी ओलीनिकट भएको दाबी गर्दै आएका छन् ।

उनीहरुले आफू अध्यक्षको आधिकारिक उम्मेदवार भएकोसमेत बताउँदै आएका छन् । तर, अध्यक्ष ओलीले भने अहिलेसम्म कसैलाई कुनै सिग्नल दिएका छैनन् ।

त्यस्तै पदाधिकारीमा रहर गर्नेहरुले पनि आफूलाई अध्यक्ष ओलीले ‘ग्रिन सिग्नल’ दिएको दाबी गरिरहेका छन् । तर, उनीहरु कसैको दाबीमा पनि सत्यता छैन ।

बरु यहाँ क्षणभरमै गुट अदल–बदल भइरहेको छ । ‘दश बुँदे’वाला जतातिरबाट बढी भाग पाइन्छ लिने, नपाए आफ्नै ढंगमा उम्मेदवारी दिने रणनीतिमा छ । जे होस्, एमाले बागमतीको चुनावी सरगर्मी रोचक छ ।

Untitled
Untitled
Untitled