२०८३ असार २७ शनिवार | Saturday, Jul 11 2026

मनसुनको प्रभाव झन् बलियो, तीन दिनसम्म देशभर भारी वर्षाको सम्भावना,बाढी–पहिरोको जोखिम बढ्यो

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपालमा मनसुन थप सक्रिय बन्दै जाँदा आगामी तीन दिन देशका अधिकांश भू-भागमा वर्षाको तीव्रता बढ्ने भएको छ।

जल तथा मौसम विज्ञान विभागले विशेषगरी शुक्रबारदेखि आइतबारसम्म पश्चिम नेपालसहित विभिन्न प्रदेशमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने पूर्वानुमान गर्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

विभागका अनुसार अहिले मनसुनी वायुको प्रभाव देशभर कायम छ भने मनसुनको न्यूनचापीय रेखा औसत अवस्थाभन्दा केही उत्तरतर्फ सरेकाले वर्षा गराउने प्रणाली थप सशक्त बनेको छ।

यही मौसमी अवस्थाका कारण गएराति देशका अधिकांश जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको थियो। बागमती र लुम्बिनी प्रदेशमा भने अन्य प्रदेशको तुलनामा बढी वर्षा रेकर्ड गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले आज सातै प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र वर्षाको गतिविधि रहने जनाएको छ।

केही क्षेत्रमा भारी तथा मुसलधारे वर्षा हुने सम्भावना रहेको छ भने उच्च हिमाली भू-भागमा वर्षासँगै हिमपात पनि हुन सक्ने अनुमान गरिएको छ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ।

हिमाली भेगका केही स्थानमा मेघगर्जनसहित वर्षा र हिमपात हुन सक्ने मौसमविद्हरूले बताएका छन्।

तराई क्षेत्रमा पनि वर्षाको प्रभाव रहनेछ। विशेषगरी बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेश र कोशी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ।

रातिको समयमा भने वर्षाको गतिविधि अझ तीव्र बन्ने अनुमान गरिएको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका धेरै स्थानमा लगातार वर्षा हुने सम्भावना छ भने कर्णाली र सुदूरपश्चिमका पहाडी क्षेत्रमा पनि मध्यमदेखि भारी वर्षा हुन सक्ने देखिएको छ।

त्यसैगरी कोशी, बागमती र गण्डकीका हिमाली भू-भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा र हिमपात हुन सक्ने विभागले जनाएको छ।

महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको विशेष सम्भावना रहेको जनाएको छ।

साथै मधेश प्रदेश र बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिमका तराईका केही क्षेत्रमा पनि रातिको समयमा मुसलधारे वर्षा हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

मौसमविद् विनोद पोखरेलका अनुसार आजदेखि आइतबारसम्म पश्चिम नेपालमा वर्षाको जोखिम सबैभन्दा बढी रहने देखिएको छ।

मौसम विश्लेषणका लागि प्रयोग गरिएका विभिन्न कम्प्युटर मोडलहरूले वर्षा हुने स्थान र परिमाणमा केही फरक–फरक अनुमान गरेपनि समग्र रूपमा भारी वर्षाको सम्भावना उच्च रहेको उनले बताएका छन्।

उनका अनुसार लगातारको वर्षाले पहाडी जिल्लामा पहिरो, सडक अवरोध, गेग्र्यान बहाव तथा साना नदी र खोलामा आकस्मिक बाढी आउने जोखिम बढाएको छ।

तराई क्षेत्रमा डुबान र जलजमावको समस्या देखिन सक्ने भएकाले स्थानीय तह र सुरक्षा निकायलाई पूर्वतयारी अवस्थामा रहन आग्रह गरिएको छ।

जल तथा मौसम विज्ञान विभागले नदी किनार, पहिरोको जोखिम भएका बस्ती तथा कमजोर भू-भागमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।

लामो दूरीको यात्रा गर्ने यात्रुहरूले सडक र मौसमको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी हुने सूचना पालना गर्न पनि विभागले आग्रह गरेको छ।

मौसमविद्हरूका अनुसार मनसुनी प्रणाली तत्काल कमजोर हुने संकेत नरहेकाले आगामी केही दिन देशका अधिकांश भू-भागमा वर्षाको क्रम जारी रहने सम्भावना छ।

त्यसैले सम्भावित प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता र पूर्वतयारी अपनाउन सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ।

Untitled
Untitled
Untitled