काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भई प्रमाणीकरणका लागि पठाइएका चार वटा महत्वपूर्ण विधेयक प्रमाणीकरण गरेका छन् ।
प्रमाणीकरणसँगै ती विधेयकहरू कानूनी रूपमा कार्यान्वयनको प्रक्रियामा प्रवेश गरेका छन्।
राष्ट्रपति कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम असार २५ गते राष्ट्रपति पौडेलले चारवटै विधेयक प्रमाणीकरण गरेका हुन ।
प्रमाणीकरण भएका विधेयकमध्ये सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३ ले सार्वजनिक खरिद प्रक्रियालाई थप पारदर्शी, प्रतिस्पर्धी र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
त्यसैगरी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ मार्फत वित्तीय अपराध नियन्त्रण, अवैध सम्पत्तिको निगरानी तथा सम्पत्ति शुद्धीकरणविरुद्धको कानूनी व्यवस्था थप सुदृढ हुने विश्वास गरिएको छ।
यस्तै, सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रमाणीकरण भएसँगै सहकारी क्षेत्रको नियमन, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी व्यवस्थामा सुधार गर्ने कानूनी आधार तयार भएको छ। पछिल्लो समय सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न यो संशोधनलाई महत्त्वपूर्ण मानिएको छ।
यसका साथै स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३ पनि राष्ट्रपतिबाट प्रमाणीकरण भएको छ।
यसले स्वास्थ्य शिक्षा तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूको सञ्चालन, व्यवस्थापन र कानूनी संरचनामा आवश्यक सुधार गर्ने अपेक्षा गरिएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा संसद्का दुवै सदनबाट पारित भई राष्ट्रपतिसमक्ष पेश भएका ती चारवटै विधेयक संविधानबमोजिम प्रमाणीकरण गरिएको उल्लेख गरिएको छ।
संविधानअनुसार राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि विधेयक ऐनका रूपमा लागू हुने प्रक्रिया अघि बढ्छ।
नेपाल राजपत्रमा प्रकाशित भएपछि सम्बन्धित कानून कार्यान्वयनमा आउने व्यवस्था रहेको छ।
सरकारले अब ती ऐन कार्यान्वयनका लागि आवश्यक नियमावली, कार्यविधि तथा प्रशासनिक तयारी अघि बढाउने अपेक्षा गरिएको छ।


































