काठमाण्डू, नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीभित्र देखिएको लामो समयदेखिको आन्तरिक विवाद अन्त्य गर्दै एकतामै अघि बढ्नुपर्ने निष्कर्ष निकालेको छ।
यद्यपि, संगठनात्मक सहमति र राजनीतिक समझदारी कायम हुन नसके भविष्यका विकल्पबारे पनि निर्णय गर्नुपर्ने धारणा नेताहरूले व्यक्त गरेका छन्।
काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा बुधबार सम्पन्न बैठकमा पार्टीको संगठनात्मक अवस्था, क्रियाशील सदस्यता विवाद, आगामी महाधिवेशनको तयारी तथा समसामयिक राजनीतिक परिस्थितिबारे विस्तृत छलफल भएको थियो।
बैठकमा बोल्ने अधिकांश नेताले पार्टी विभाजनभन्दा एकता नै कांग्रेसका लागि सबैभन्दा उपयुक्त विकल्प भएको बताएका थिए।
बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेता मीन विश्वकर्माले पार्टी एकताको आधारका रूपमा सभापति गगनकुमार थापा संयोजक रहँदा सम्पन्न गरिएको क्रियाशील सदस्यता अद्यावधिक प्रक्रियालाई स्वीकार गर्नुपर्ने धारणा बलियो रूपमा आएको जानकारी दिए।
उनले उक्त सदस्यता विवरणलाई मान्यता दिएर संगठनात्मक प्रक्रिया अगाडि बढे पार्टीभित्र विश्वासको वातावरण बन्ने विश्वास व्यक्त गरे।
तर, त्यसलाई अस्वीकार गर्दै पुरानै विवाद दोहोर्याइए पार्टीले आफ्नो भावी रणनीतिबारे नयाँ ढंगले सोच्नुपर्ने अवस्था आउने उनले बताए।
विश्वकर्माका अनुसार बैठकमा सहभागी अधिकांश नेताहरूले पार्टी एकता नै पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिएका छन्।
तर, सहमतिका लागि आवश्यक आधार तयार नभए वैकल्पिक राजनीतिक र संगठनात्मक मार्ग पनि खुला राख्नुपर्ने मत व्यक्त भएको उनले बताए।
बुधबारको बैठकमा १९ जना केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए।
उनीहरूले पार्टीको वर्तमान नेतृत्व, संगठन विस्तार, महाधिवेशनको तयारी, कार्यकर्ता व्यवस्थापन तथा भविष्यको राजनीतिक दिशा सम्बन्धी सुझाव प्रस्तुत गरेका थिए।
बैठकमा केवल पार्टीको आन्तरिक विवादमा मात्र नभई राष्ट्रिय राजनीतिक अवस्थामाथि पनि समीक्षा गरिएको थियो।
नेताहरूले पछिल्लो समय लोकतान्त्रिक प्रणालीमाथि चुनौती बढ्दै गएको, संवैधानिक संस्थाहरूको भूमिका कमजोर पार्ने प्रयास भइरहेको तथा संसदलाई प्रभावहीन बनाएर शासन सञ्चालन गर्ने प्रवृत्ति बढेको भन्दै चिन्ता व्यक्त गरेका थिए।
उनीहरूले संसदीय लोकतन्त्र, संविधानको मर्म र राजनीतिक दलहरूको भूमिकालाई सुदृढ बनाउन कांग्रेसले प्रभावकारी प्रतिपक्षीय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
मुलुकको राजनीतिक स्थायित्व, लोकतान्त्रिक मूल्य र विधिको शासनको पक्षमा पार्टी स्पष्ट रूपमा उभिनुपर्ने निष्कर्ष पनि बैठकमा निकालिएको जनाइएको छ।
बैठकले आगामी दिनमा संगठनलाई थप सशक्त बनाउने, कार्यकर्ताबीचको विश्वास पुनःस्थापित गर्ने तथा पार्टीभित्र संवाद र सहमतिलाई प्राथमिकता दिने रणनीतिमा अघि बढ्ने संकेत गरेको छ।
साथै, तीन दिनदेखि जारी बैठकको समग्र निष्कर्ष र आगामी कार्ययोजना बिहीबार औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरिएको छ।
यसैबीच, संस्थापन इतर पक्षले जननेता बीपी कोइरालाको स्मृति दिवसको अवसर पारेर आगामी साउन ६ गते राष्ट्रिय भेला आयोजना गर्ने सैद्धान्तिक निर्णय पनि गरेको छ।
मौसम तथा व्यवस्थापकीय अवस्थालाई ध्यानमा राख्दै मितिमा सामान्य हेरफेर हुन सक्ने भएपनि कार्यक्रम साउन महिनाभित्रै सम्पन्न गर्ने तयारी गरिएको नेता विश्वकर्माले जानकारी दिएका छन्।
कांग्रेसभित्र जारी शक्ति सन्तुलन, संगठनात्मक पुनर्संरचना र आगामी महाधिवेशनको तयारीका बीच सम्पन्न भएको यो बैठकलाई पार्टीको भावी राजनीतिक दिशा तय गर्ने महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।


































